३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

विष्णु रिजालले पनि देखेनन् ओलीकाे विकल्प, एक्लिए माधवकुमार नेपाल

१० चैत, काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले पनि नेता माधवकुमार नेपालको साथ छाडेका छन । माधवकुमार नेपालका एकदमै निकटका भनेर चिनिएका रिजालले मंगलबार एउटा ट्वीट गर्दै यसको स्पष्ट संकेत दिएका हुन ।

रिजालले वर्तमान राजनीतिको निकास ओलीको नेतृत्वमा मात्र सम्भव देखिएको बताएका छन । उनले केपी ओलीकै नेतृत्वमा वर्तमान सरकारको निरन्तरता वा २०७८ को मंसिरमा ओलीकै नेतृत्वमा चुनाव हुनुपर्ने बताएका छन ।

माधव नेपाल निकटका एकपछि अर्का नेताहरू एमालेको मुलधारमा फर्किरहेका छन । नेता नेपालले सरकारविरूद्ध कुण्ठा पोखिरहेका समयमा रिजालले सरकारको समर्थनमा सामाजिक सञ्जालमा उपस्थिति देखाएका हुन ।

उनले ट्वीटरमा  लेखेका छन ‘अहिलेको अवस्था हेर्दा मोटामोटी दुई मात्र विकल्प देखिन्छन् । प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई बर्ष निरन्तरता वा प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन ।’

वर्तमान राजनीतिक परिदृष्यमा भारतका लागि कम्फर्टेबल सरकार बनाउने अभियानमा पुष्पकमल दाहाल प्रचण्डसँगै सडकमा समेत सहकार्य गरेका नेपालले अझै पनि प्रधानमन्त्री ओलीलाइ गलहत्याउने खालका अभिव्यक्ति दिइरहँदा रिजाल लगायत भने सरकारप्रति नरम देखिन थालेका छन । त्यसकारण उनले अहिले राजनीतिक निकासको दुइवटामात्र विकल्प देखेका छन ।

रिजाललाइ नेपालले उनी आफैँ प्रमुख रहेको विदेश विभागको उपप्रमुख बनाएका थिए । एमालेका केही नेताले पार्टी छाडेर माओवादी केन्द्रको नाम फेरेर त्यही समाहित हुने योजनामा अघि बढिरहँदा रिजाल लगायतका नेताहरू भने त्यसको विपक्षमा उभिएका छन ।

प्रकाशित मिति : March 23, 2021 at 7:12 pm