१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई माफीे छैन, कारबाही हुन्छः मन्त्री पोखरेल

१५ असार, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीका लागि माफी नदिइने बताउनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कसैलाई पनि माफी दिइने छैन् ।”

एसइई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिप्रति मन्त्री पोखरेलले परीक्षाका विषयलाई गोप्य राख्नुपर्नेमा यसो हुन नसकेको उल्लेख गर्दै गोप्यता भंग गर्ने र गल्ती गर्नेले कारबाहीको भागिदार बन्नुपर्ने बताउनुभयो ।

छानबिन समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाही गरिनेछ, उहाँले भन्नुभयो–“एसइईको नतिजाको त्रुटिमा प्राविधिक गल्ती भनेर पन्छिन् पाइदैन, विद्यार्थीको भविष्यमा खेलबाड हुने गरी कुनै पनि काम गर्न पाइदैन ।”
मन्त्री पोखरेलले आगामी दिनमा बोर्डलाई यस्ता गल्ती नगर्न सचेत पनि गराउनुभयो ।

घोकन्ते शैलीको पढाइ अब काम नलाग्ने भन्दै उहाँले विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव खगराज बराल, बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, पाठ्यक्रम विकास केन्द्रका निर्देशक कृष्ण काप्री लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
वार्षिकोत्सवकै अवसरमा राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ७० जनाले रक्तदान गरेको संघका अध्यक्ष नरेन्द्र ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 29, 2018 at 6:25 pm