गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचोः पूर्वमन्त्री आचार्य
८ चैत, भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उहाँले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताउनुभयो ।

उहाँले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सबै विपक्षी दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ सरकार बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट तत्काल विश्वासको मत लिनु पर्ने उल्लेख गर्दै देशको अवस्था बिग्रनुमा प्रधानमन्त्री ओलीको मात्र दोष नभएर माधव नेपाल र प्रचण्ड पनि दोषी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विगतमा जस्तै कांग्रेसले देशलाई निकास दिने बेला आएको बताउँदै शान्ति प्रक्रियामा कोइरालाले पुर्याएको योगदानको चर्चा गर्नुभयो । पूर्वसांसद लेखनाथ न्यौपाने, जिपी फाउन्डेसन भक्तपुरका संयोजक विदुरमान सिंह बस्नेतलगायतले स्व कोइरालाले शान्ति, सहमति, एकता र सहकार्यको सिद्धान्तमार्फत देशलाई निकास दिएको र उहाँको यो कार्यशैली अहिले पनि अनुकरणीय रहेको चर्चा गर्नुभयो ।
प्रकाशित मिति : March 21, 2021 at 9:51 am









