जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैनः नेता कर्ण
४ चैत, काठमाडाैँ । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको बताउनुभएको छ । सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले संविधान संसोधन, नागरिकता लगायत जसपाले उठाउदै आएका मुद्दाहरुलाई सबैधानिक र कानूनीबाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको बताउनुभएको हो ।
राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफुहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिनुभएको बताउनुभएको हो । प्रतिनिधिसभा पुर्नस्थापना लगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकिकरण भएका वामघटकहरु पुर्व नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र र नेकपा एमालेमा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तिब्र बनेको छ ।

जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो ? भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गर्नुभयो । सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न भिन्न भएको भन्दै उहाँले अरु दलको आडलिएर नेतृत्वमा पुग्न नहुने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो “जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाईदिन्छ, त्यो बेला साफ हुन्छ । त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो । र सरकारै चलाउने विषय झन अलग हो । यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन । ”
प्रकाशित मिति : 15:35









