कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
चैत्र ४, काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले चैत ५ गते देखि लागू हुने गरी माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको छ । बुधबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादीबाट मुख्यमन्त्री भएका शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हाे ।

बैठकले एमालेबाट सरकारमा सहभागी तीनै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए । ‘हामीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कँडेलले भने, ‘आगामी चैत ५ गतेदेखि त्यो लागू हुनेछ ।’
बैठकमा १९ जना सांसद्मध्ये १० जना सहभागी भएका छन् । आजको संसदीय दलको बैठकमा अनुपस्थित ९ जनालाई लिखित स्पष्टीकरण सोधिने उनले बताए । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।
प्रकाशित मिति : 15:07









