२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

महिलाको अपमान गर्नु भनेको आमालाई बिर्सनु होः प्रधानमन्त्री ओली

२९ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाको अपमान गर्नु भनेको आमालाई बिर्सनु हो, भन्नुभएको छ ।
अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)द्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजधानीमा आयोजित अगुवा महिला कार्यकर्ताको भेलालाई सम्वोधन गर्दै उहाँले सबैको जीवनमा आफ्नी आमाको कति योगदान हुन्छ, अन्य महिलालाई अपमान गर्नु, होच्याउनु भनेको आफ्नै आमाको माया ममता र योगदानलाई विर्सनु हो, भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सङ्घको झण्डामा रहेको ताराहरुसँग महिलाको तुलना गर्दै महिला सबैभन्दा माथि छन्, भन्नुभयो । नेपाली महिलाले विभेदको अन्त्यको माग गर्दै राणाकालमै योगमायाको नेतृत्वमा ठूलो विद्रोह गर्नुभएको स्मरण गर्दै अझै छाउगोठमा बस्ने परम्पराको महिला आफैंले पनि विरोद गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले महिलालगायत सबै क्षेत्रको विभेद अन्त्यको लागि नीति कानुन बनाएको छ, व्यवहारमा लागु गर्ने कर्तव्य र जागरण पनि हरेक नागरिकमा हुुनुपर्ने उहाँले बताउनुभयो । कोरोनाको महामारीलाई पनि नेपाल सरकारले टास्कफोर्स नै बनाएर सामना गरेकोले अन्य देशको तुलनामा कम क्षति व्योहोरेको बताउनुभयो ।

देशको राजनीतिक माहोल र कोरोना महामारीले पनि देश विकासको काम नरोकिएको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत महिला स्वास्थ्य, शिक्षा, उद्यमसिलताको विकास गरिरहेको बताउनुभयो । देशभरका महिला कार्यकर्ताको सहभागिता भएको यस भेलाबाट महिलालाई अगाडी बढ्न नदिने वाधा अडचनलाई चिर्दै राजनीतिलगायत सार्वजनिक तथा पेशागत हक हितका लागि सधैं प्रतिवद्ध हुने सन्देश लिएर जान पनि उहाँले आग्रह गर्नुभयो ।


प्रधानमन्त्री ओलीले महिलामाथि हुने हिंसा, विभेदको अन्त्य गर्नुपर्ने आवाज बुलन्द गर्ने महिला नेतृहरु योगमाया न्यौपाने,कामाक्षादेवी बस्नेत र शान्ता मानवीको तस्वीरको पनि अनावरण गर्नुभएको थियो । उप–प्रधानमन्त्री इश्वर पोखरेलले महिला हक अधिकारको माग गर्दै सयौं वर्ष अगाडि सङ्घर्ष सुरु गर्ने अग्रज महिला नेतृको इतिहासलाई बिर्सन नहुने बताउनुभयो ।
उहाँले नेपाली महिलाले समानताको माग गर्दै गरेको सङ्घर्षलाई इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ भन्नुभयो । साथै उहाँले हालै संसदमा आफुलाई प्रजातान्त्रीक विचारधारका बताउने नेताहरुले नै एसिड प्रहार, बलात्कारको घटनामा संलग्न दोषीलाई फाष्ट ट्रयाकबाट कार्वाही गर्ने विधेयक तथा कोभिडको खोप ल्याउन बाटो खुला हुने स्वास्थ्य सम्वन्धी विधेयकलाई प्रस्ताव गर्नै नदिएको भन्दै त्यसको भत्र्सना गर्नुभयो ।

महिलामाथिको विभेद तथा हिंसामा संलग्न दोषीलाई कार्वाही गर्न नदिएर ति नेताहरुले के गर्न खोजेका हुन्? भन्दै उहाँले प्रश्न गर्नुभयो । सरकार त्यस्तो गतिविधीबाट नडराउने उहाँको तर्क थियो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले मन्त्रालयले महिलाको सर्वाङ्गिण हितका लागि कार्यान्वयनमा ल्याएको कार्यक्रमहरुको चर्चा गर्नुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले विकासको एजेण्डा बोकेर हिडेको सरकारमा अप्ठेरो बेला आफुले पनि पाएको जिम्मेवारीलाई सम्हाल्दैछु । यसैगरी देशभरका महिला कार्यकर्ताले पनि आ–आफ्नो स्थानबाट विभेदको अन्त्यको साथै मुलुकको समृद्धिको सपना पुरा गर्न योगदान पु¥याउन आग्रह गर्नुभयो ।

पूर्वमन्त्री थममाया थापाले विगत तीन वर्षको अवधिमा अनेमसङ्घले केन्द्रदेखि स्थानिय तहसम्म विविध कार्यक्रम सञ्चालन गर्न केही अलमलको वातावरण बनेपनि अब भने दु्रत गतिले काम अगाडि बढाउने बताउनुभयो । आगामी निर्वाचनमा राजनीतिमा महिला सहभागिता बढाएर लैजाने र अनेमसङ्घले अघि सारेका आमाको नाममा नागरिकता, राजनीतिमा कम्तीमा ३३ प्रतिसत सहभागिता र महिलामाथि भइरहेको विभेदको अन्त्यको सवाल संविधानमै लेखिनु सफलता हो भन्नुभयो ।

उहाँले यत्तिमै सन्तुष्ट हुने अवस्था छैन, यसको पूर्ण कार्यान्वयनको लागि आवश्यक ऐन, कानुन बनाउन दबाब सृजना गर्ने राजनीतिलगायत हरेक क्षेत्रमा समानताको लागि सङ्घले जागरणमुलक काम गरिरहेको बताउनुभयो । नेतृ ज्वाला शाहले समानताको मुद्दालाई देशको हरेक क्षेत्र, वर्ग, समुदायसम्म पु¥याउन महिलाको पनि विशेष भूमिका हुन्छ, आफ्नो जिम्मेवारीको पूर्ण पालना गरौं भन्नुभयो ।

अनेम सङ्घका केन्द्रीय संयोजक सीता पौडेलले सङ्घले महिलामाथि हुने विभेदको अन्त्यका लागि बनाइएका कानुनको कार्यान्वयन र महिलालाई अगाडि बढ्न बाधा पु¥याउने सबैखाले चुनौतीलाई जितेर अगाडि बढ्न भेलामा सहभागी महिला कार्यकर्तालाई आग्रह गर्नुभयो । सो अवसरमा महिलामाथि गरिने विभेदको अन्त्यका लागि आन्दोलन गर्ने ऐतिहासिक नेपाली महिलादेखि हालसम्म पनि यस मुद्दामा खटिने महिला तथा गतिविधीलाई समेटेर बनाइएको वृत्तचित्रको प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुती गरिएको थियो ।

प्रकाशित मिति : 19:27