३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

समृद्धिका लागि राजनीतिक स्थिरता र शान्ति आवश्यकः मन्त्री रायमाझी

२७ फागुन, काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मुलुकको विकास र समृद्धिका राजनीतिक स्थिरता र शान्ति आवश्यक पर्ने बताउनुभएको छ ।

कास्कीको रुपा गाउँपालिकाद्वारा स्थानीय तह स्थापनाका अवसरमा आयोजित मूल समारोहको आज उद्घाटन गर्दै उहाँले सरकार सबैखाले चुनौतीको सामना गर्दै अघि बढ्ने बताउनुभयो ।

मन्त्री रायमाझीले रुपा ताललाई रोजगारीको आधार बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले रु चार अर्बको लागतमा रुपा परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यकपर्ने बताउँदै उहाँले सरकार सुख्खा जमीनमा सिँचाइको व्यवस्था गरेर उत्पादकत्व वृद्धिमा जोड दिँदै आएको छ भन्नुभयो ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले रुपा परियोजनालाई बहुवर्षीय योजनाका रुपमा अघि बढाउनुपर्नेमा जोड दिँदै रुपा गाउँपालिकाको विकासमा आप्mनोतर्पmबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले विकास निर्माण तथा विपद्का अवसरमा स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

नेपाल कम्युष्टि पार्टी एमाले कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले मुलुकको आवश्यकता र जनताको अपेक्षाअनुरुप तीनै तहका सरकार विकास निर्माणमा जुटेको बताउँदै विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि स्थानीय तहले अतुलनीय भूमिका निर्वाह गरेको बताउनुभयो ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै चार वर्षको अवधिमा ८५ किलोमिटर बाटो स्तरोन्नतिका साथै कालोपत्र गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सम्मानित स्रष्टा साहित्यकार एवं लेखक हरिहर खनाल, गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, नेपाली कांग्रेस रुपाका सभापति तुलबहादुर गुरुङलगायतले स्थानीय तहको भूमिका र महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा रुपा गाउँपालिकामा जन्म भई स्वदेश एवं विदेशमा विभिन्न विधामा सफलता प्राप्त गर्नुहुने स्रष्टालाई सम्मान गर्नुका साथै गाउँपालिका स्तरीय झाँकी प्रदर्शन, अध्यक्ष कप भलिबल प्रतियोगता तथा माला प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई पदक तथा मेडलले सम्मान गरिएको थियो । मन्त्री रायमाझीले आजै रुपाताल परियोजनाकोसमेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।

प्रकाशित मिति : March 11, 2021 at 9:37 pm