३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नुवाकोटका द्वन्द्वपीडितका लागि चार करोड प्राप्त, प्रति पीडित २५ हजार वितरण गरिने

१४ असार, नुवाकोट । दशवर्षे सशस्त्र युद्धको समयमा अपहरणमा परेका तथा विस्थापित भएका पीडितका लागि क्षतिपूर्ति स्वरुप नेपाल सरकारले दिने रकम जिल्ला प्रशासन कार्यालय, नुवाकोटमा आएको छ ।

तत्कालीन समयमा रहेको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गतको ‘द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल—२०७४’ ले सिफारिस गरेअनुसार ३० दिनभन्दा बढी समय अपहरणमा परेका र द्वन्द्वको क्रममा पीडित भएर विस्थापित हुन बाध्य भएका व्यक्तिका लागि एकजनाको रु २५ हजारको दरले गृहमन्त्रालयले उपलब्ध गराएको रकम वितरण गर्न शुरु गरेको प्रमुख जिल्ला अधिकारी उद्धव थापाले जानकारी दिनुभयो ।

गत आव असार अन्तिममा रकम प्राप्त भएपनि प्रभावित सबैलाई वितरण गर्न अपुग भएपछि बाँकी पीडितलाई यो पटक पुनः गृहमन्त्रालयले क्षतिपूर्ति रकम जिल्ला पठाएको हो । पीडित व्यक्तिलाई वितरण गर्न यो आवमा यहाँ रु चार करोड पाँचलाख ७० हजार प्राप्त भएको लेखापाल राम्जी लम्सालले जानकारी दिनुभयो ।

कार्यदलको सिफारिसअनुसार नामावलीमा नाम भएका एक व्यक्तिका लागि रु २५ हजार प्राप्त गर्न आफू बसोबास गर्दै आएको वडा कार्यालयबाट विस्थापित तथा अपहरणमा परेको भन्ने सिफारिस, एकै परिवारमा विस्थापित तथा अपहरणमा पर्ने व्यक्तिको संख्या एकभन्दा बढी भएमा घरमूलीसँगको नाता प्रमाणित, नेपाली नागरिकता तथा नाबालक भएमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य बनाइएको छ ।

कार्यदलको सूचीअनुसार नुवाकोटमा विस्थापितको संख्या ४६६ परिवारमा करीब एक हजार ७०० रहेको अनुमान छ भने अपहरणमा पर्नेको संख्या ५१७ रहेको छ ।

प्रकाशित मिति : June 28, 2018 at 10:58 am