प्रधानमन्त्रीलाई पार्टी सदस्यबाट निस्कासित गर्ने अपराधीहरूकाे झलझली सम्झना भइरहेकाे छः सल्लाहकार थापा
२५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेकाे घाेषणा गर्ने अपराधीहरूकाे मुहार झलझली सम्झना भइरहेकाे बताउनुभएकाे छ । थापाले मंगलबार सामाजिक सञ्जालमार्फत प्रचण्ड-माधव समूहबाट ओली अध्यक्ष रहेको एमालेमा नै फर्किने निर्णय गरेका माधवकुमार नेपाल‚ झलनाथ खनालहरुलाई लक्षित गर्दै साे कुरा बताउनुभएकाे हाे ।
उहाँले सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ‚ ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ। जनताले दुई तिहाइकाे जनादेश दिएकाेमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिकाे बल लगाउने यिनकाे अनैतिक हर्कत बिर्सन मिल्दैन ।’

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता बदर गरी एकता पूर्वको नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेताहरु आफ्नो पुरानो पार्टीमा नै फर्किएका छन्। प्रधानमन्त्री ओलीलाई छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर लागेका माधवकुमार नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेतिर नै फर्किएका छन्। आइतबार प्रचण्ड-माधव समूहको अन्तिम बैठक बसी छुट्टिने निर्णय गरेका छन्।
प्रकाशित मिति : 14:09









