३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पार्टी एकता गर्दा ढंग नपुगेकाले समस्या भयाेः उपप्रधानमन्त्री

२४ फागुन, काठमाडाैँ । उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोखरेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताउनुभएको छ । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडाैँमा आयोजित कार्यक्रममा उहाँले पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको बताउनुभएको हो ।

विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उहाँको भनाई थियो । आईतबारको सर्वोच्च अदालतको फैसला पछि एकिकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको उल्लेख गर्दे उहाँले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो “हिजो २०७५ साल जेठ ३ गते पार्टी एकता गर्दा ढंग नपुराएकै हो । त्यही ढंग नपुर्याएका कारण आज काँचै पल्टिएर बाहिर आयो । अब एकता गर्दा हामीले ढंग पुर्याएर गर्नुपर्छ । सबै थिति मिलाएर उचित तरीकाले गर्नुपर्छ । हिजो एकता गर्दा विचार, संगठन र नेतृत्वको कुरा पनि ख्याल गरिएन ।

पार्टी ठूलो बनाउने चुनावमा बहुमत ल्याउने भन्ने कुरा मात्रै भयो । त्यसले गर्दा यो अप्ठ्यारो पर्यो । अब सर्वोच्च अदालतको फैसलापछि नया ढंगले पार्टीलाई एकतावद्ध बनाउँछौँ । हिजोको जस्तो गरी राटो छोडेर, काँचोकट्मिरो राखेर एकताको कुरा हुदैन ।

विचारमा खदिलो बनाएर, संगठन राम्रो र नेतृत्वमा योग्यता क्षमता पुगेका साथीलाई स्थापित गरेर अघि बढ्नुपर्छ । ”केही समय अगाडि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्री ओली समुहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरु पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै सबैलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “नेकपा एमालेको ९ औ महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यो बैठकले अस्ति थपिनुभएका साथीहरुलाई नै फेरि थपेर विस्तारित कमिटी बनाउँछ । अब केही हुदैन । तर लय र स्टेप मिलाउनका लागि नेकपा एमालेको पहिले केन्द्रीय कमिटीको बैठक हुन्छ । केन्द्रीय नेताहरुलाई बैठकमा बोलाईन्छ । नआउने अब अन्तैतिर जान्छु भन्ने पनि निस्केलान् निस्के भने पनि कोहीवात छैन जानुहुन्छ । ”

उहाँले नेकपा एमाले सुर्य चिन्ह सहित सबैलाई समेटर अगि बढ्ने बताउनुभयो । छिनछिनमा सरकार बदलिने, हेरफेर भईरहने कुरा भयो भने मुलुकमा अस्थिरता पैदा हुने र त्यसले समग्र आर्थिक र विकासको गतिलाई प्रभाव पार्ने भएकाले आफुहरुले त्यसो गर्न हुदैन भन्ने अडान राख्दा पार्टी भित्रैबाट अहसहयोग भएको दाबी उहाँले गर्नुभयो ।

प्रधानमन्त्री केपी ओलीको नाममा भोट मागिएको र ओलीलाई नै जनताले विश्वास गरेकाले उहाँको विकल्प खोज्ने विषय अस्वभाविक भएको तर्क उहाँले गर्नुभयो । उहाँले प्रतिनिधिसभा पुर्नस्थापना संगै मुलुकमा अस्वभाविक क्रियाकलाप हुन थालेको र त्यस्ता घिनलाग्दा काम नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रैका नेताहरुबाट भईरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिले तमासा के रे भने । आफ्नो झण्डै झण्डै दुई तिहाईको समर्थनमा सरकार छ । त्यो सरकारको प्रधानमन्त्री हटाउने अनि अर्को प्रधानमन्त्री कस्लाई बनाउने भन्दा बुढानिलकण्ठ गएर कांग्रेसको सभापतिलाई प्रधानमन्त्री भईदेउ भन्ने यस्तो घिनलाग्दो काम यही कम्युनिष्ट पार्टी भित्रका नेताहरुबाट भईरहँदा यो कति निन्दनिय कुरा हो यो ? कति दुखको कुरा हो यो । कति निन्दनिय कुरा हो यो ? त्यसकारणले अहिले जुन विग्रह पैदा भएको छ । त्यसपछाडि सप्ताको लिप्सा , ईष्या कुण्ठा, यही कारणले यी सब कुरा भएको छ ।”

उहाँले महिला अधिकारको विषयमा संसदमा पहिलो अगुवाई गरेर राज्यका अंगहरुमा ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर प्रस्ताव लैजाने र सफल बनाउने नेतृ वर्तमान राष्ट्रपतिलाई अपमान गर्ने काम हुनु दुखद भएको बताउनुभयो । महिला अधिकार कसैले दिएर दिईने विषय नभएको उल्लेख गर्दे उहाँले श्रम, उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसंग महिला अधिकारलाई हेर्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “महिला अधिकार कसैले दिएर दिईदैन । यो श्रम र उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसंग गाँसिएको छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा जमिनको लालपुर्जा दिँदा महिलाको नाममा हुँदा दस्तुर मिनाहा गर्ने खालको कुरा पनि प्रारम्भ भयो । जहिलेसम्म सम्पत्तिमाथि पुरुष सरह महिलाको अधिकार हुदैन त्यसबेला सम्म महिला स्वतन्त्र हुन सक्क्तैन ।

महिलाको मेहनतलाई श्रमको रुपमा नबुझ्ने हाम्रो परम्परा र बुझाई छ । महिलाले घरभित्र गर्ने काम पनि ठूलो श्रम हो भनेर बुझ्नुपर्छ त्यो नबुझेसम्म समानता हुदैन । ”आफुलाई ठुला घरानिया भन्नेहरुले श्रीमतीको नाममा लालपुर्जा बनाएर सम्पत्ति माथिको अधिकार छ भनेर देखाउने गरेको भन्दै त्यसलाई समानता र अधिकारको कडी मान्न नसकिने तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिले कतिपय ठूल्ठूला मान्छेहरुका श्रीमतिको नाममा लालपुर्जा दिने अनि सम्पत्तिमाथि अधिकार छ भनेर देखाउने यस्तो गरेर हुदैन । ”उहाँले महिलामाथि हुने विभेद र हिंसा रोक्न सामाजिक सचेतना जगाउनुको साथै सम्पत्तिमाथि महिलाको पनि पुरुषसरह अधिकार स्थापित हुन गर्न जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति : March 8, 2021 at 7:43 pm