३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

साविक नेकपा संसदीय दलको अन्तिम बैठक सकियो, यस्ता छन महत्वपूर्ण निर्णय

२३ फागुन, काठमाडाैँ । साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक सम्पन्न भएको छ । पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठक भएको र सर्वोच्च अदालतले पार्टी एकता पछिको नाम खारेज गरेर पुरानै अवस्थामा फर्काइदिएपछिको अवस्थाका विषयमा छलफल गर्दै बैठक  सम्पन्न भएको साविक नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँले साविक नेकपाकै संसदीय दलको बैठक बसेको र आगामी कदमका विषयमा छलफल भएको र केही विषयमा निर्णय भएको जानकारी दिनुभयो । भट्टराईका अनुसार बैठकमा मुख्य चार विषयमा संसदीय दल निष्कर्ष र निर्णय दिएको छ ।  संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषयमा निर्णय गरेको छ ।

यस्तै बैठकले नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चाँडो भन्दा चाँडो बोलाउने निर्णय गरेको छ । त्यस्तै बैठकले नेताहरूको व्यवस्थान गर्ने विषयमा छलफल गरे पनि ठोस निर्णय गरेको छैन । विशेष गरी तत्कालीन नेकपा माओवादी केन्द्रबाट आएका नेताको व्यवस्थापनको कसरी गर्ने भन्नेमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका दलका नेता केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा हार्दिक शुभकामना दिन गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको साविक नेकपाका सचेतक भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 7, 2021 at 9:23 pm