हामीले कसैलाई प्रधानमन्त्री बनिदिनुपर्याे भनेका छैनाैँः प्रधानमन्त्री ओली
२१ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री बनिदिनुपर्याे भनेर नभनेकाे बताएका छन् । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साे कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले आफूहरू प्रचण्ड र माधव नेपालहरूजस्ताे आफ्नो पार्टी फुटाएर प्रधानमन्त्री बनिदेऊ भन्दै किस्तिमा पद राखेर अरुको दैलोमा भीख माग्न नहिँडेकाे जिकिर गरेका छन् ।
समाराेहमा बाेल्दै प्रधानमन्त्रीले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नराखेको र नराखिने प्रष्ट पारे । ओलीले भने, ‘आफ्नो पार्टी फुटाएर,सरकार ढालेर अरुलाई बनिदेऊन भन्दै हिडेका छन् बिचराहरू । आज संसदीय दलको बैठक भन्दैछन् रे । दलको नेता म यहाँ छु, कुन दलको बैठक हो कुन्नि मलाई थाहा छैन ।’
समाराेहमा बाेल्दै प्रधानमन्त्रीले शान्तिपूर्ण राजनीतिमा आउने कदम चालेको भन्दै नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को प्रशंसा गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल शान्तिको अन्तिम किस्ता पनि पूरा गरी शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका हुन् । ‘नेकपाका महासचिव विप्लवलाई स्वागत, बधाई र शुभकामना भन्न चाहन्छु । जुन साहसिक कदम र ऐतिहासिक कदम चाल्नुभएको छ,’ ओलीले भने, ‘नेपालमा द्वन्द छैन । शान्ति छ ।’ केही दिनअघि मात्र राष्ट्रसंघको प्यारामिटरमा नेपाल अगाडि बढेको तथ्यांक आएको स्मरण गर्दै ओलीले भने, भरे बेलुका मूल्यांकन गर्ने हो भने कसरी गर्ला ?
‘देश विकासका लागि शान्तिपूर्ण वातावरण चाहिन्छ। त्यही वातावरण सिर्जना गर्ने क्रममा आज त्यो ऐतिहासिक काम गएको छ। नेपाल शान्तिपूर्ण देश भएको छ। अब नेपालमा हिंसाको बाटोमा कोही छैन।’शान्तिपूर्ण ढंगले बाँच्न पाउने हरेक नेपालीका चाहाना भएको समेत बताए। ‘अब देश विकासको कामले गतिशिल ढंगले अगाडि बढ्छौँ।’ उनले भने, ‘नेपाली जनताको चाहाना यही हो। हामी सबैको चाहाना समृद्ध नेपाल, सुखी नेपाली हो।’लोकतन्त्र, सामाजिक न्याय र समानताको लागि लाग्ने उनले बताए। उनले विप्लव नेतृत्वको नेकपाको सेफ ल्यान्डिङ भएको पनि बताएका छन्।

ओलीले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिका तीन बुँदा नै मुलुकका लागि काफी भएको बताएका छन् । सहमतिपत्रमा हस्ताक्षरका लागि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सहमतिपत्रमा तीन बुँदा छ, त्यो नै काफी छ, १८ पुराणमा व्यासले जम्मा दुईवटा कुरा गरे ।’
धेरै कुरा, धेरै विषयको एउटै निष्कर्षका रुपमा आफूहरुले ‘कुनै समस्या आए छलफल र वार्ताबाटै टुंग्याउछौँ,’ भनेर सहमतिको एउटा बुँदामा उल्लेख गरेको उनले बताए । आफूले ८/१० वर्ष अघि विप्लवसँग गम्भीर कुरा गरेको र त्यो बेला केही घण्टासम्म दुई जनाबीच कुरा भएको पनि प्रधानमन्त्री ओलीले खुलासा गरे । त्यो बेलादेखि नै एक अर्कामाथि विश्वास बढेको उनले बताए ।
गत वर्ष सरकारले पृथकतावादी आन्दोलनमा हिँडेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यही राष्ट्रिय राजनीतिको मूल धारमा आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि आएको प्रस्ट पारे । उनले आफूहरु एउटै उद्देश्यमा रहेको पनि बताए । ‘समृद्ध नेपाल सुखी नेपाली,’ हाम्रो साझा उद्देश्य हो ।’ उनले भने ।
प्रकाशित मिति : 16:22









