२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सरकारसँग वार्ताका लागि विप्लव समूहले प्रकाण्डको नेतृत्वमा बनायो वार्ता टोली

१८ फागुन, काठमाडाैँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारसँगको वार्ताका लागि प्रवक्ता समेत रहेका पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । विप्लव समूहले विश्वकर्माको नेतृत्वमा उदय चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली गठन गरेको नेकपा स्रोतले बतायो ।

पार्टीका एक नेताले मंगलवारै विज्ञप्ति प्रकाशित गरेर वार्ता टोलीको घोषणा गर्ने तयारी रहेको जानकारी दिए । सरकारले मंगलवार मात्र गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

सरकारी वार्ता टोली सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विप्लव समूहसँग छिट्टै वार्ता प्रक्रिया शुरू हुने विश्वास व्यक्त गरेका थिए । हिंसात्मक तथा विस्फोटक क्रियाकलापमा संलग्न भएको भन्दै सरकारले विप्लव समूहमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको थियो । गत फागुन ८ गते विज्ञप्ति प्रकाशित गरी विप्लवले सरकारसँग वार्ता र संवादका लागि तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : 14:25