३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नुवाकोटको सिद्धिगणेश अक्सिजन उद्याेगबाट बालुवा तस्करी, उद्योग निर्माणमा प्रहरी हस्तक्षेप

११ असार, नुवाकोट । विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माण गर्न लागिएको सिद्धिगणेश अक्सिजन ग्यास उद्योग प्रालिको भौतिक संरचना निर्माणमा नुवाकोटको प्रशासनले रोक लगाएको छ ।

उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गर्ने बाहनामा अवैध रुपमा बालुवा उत्खनन गरी त्यसको व्यावसायिक कारोबार गरेको भन्दै प्रशासनले प्रहरीको सहयोगमा निर्माण कार्य तत्कालका लागि रोक लगाएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । विदुर नगरपालिकामा दर्ता भएको उक्त उद्योग २० करोड लगानीमा निर्माण गर्न लागिएको हो ।

उद्योगको स्थापनाका लागि घडेरी खन्ने बाहनामा संरचना निर्माणको मापदण्ड मिचेर अवैधरुपमा बालुवा खानी सञ्चालन गरी बेलकोटगढी नगरपालिका–७ स्थित जयगणेश बालुवा प्रशोधन उद्योगमा लगेर बिक्री गरेको पाइएको भन्दै विदुर नगरपालिकाले काम बन्द गराउन प्रशासनलाई गत शुक्रबार पत्र पठाएर आग्रह गरेको थियो ।

उद्योग राख्न लागिएको स्थानमा यसअघि सञ्चालन गरिएको अवैध बालुवा खानीलाई गत चैतमा प्रशासनले बन्द गराएको थियो । उद्योग स्थापनाको समयमा लक्षित उद्देश्यअनुरुप काम नभएको भन्दै विदुर नपामा उजुरी परेपछि भौतिक संरचना निर्माण गर्दा उत्पन्न हुने निर्माण सामग्री नगरपालिकाभित्र मात्र सहुलियत शुल्कमा बिक्री गर्नुपर्ने मापदण्ड बनाइएको थियो ।

तोकिएको मापदण्डको उल्लंघन गरी उद्योगको संरचना निर्माण नगरी अवैध बालुवा उत्खनन गर्नतर्फ केन्द्रित रहेको पाइएकाले निर्माणको काम बन्द गराउन प्रशासनको सहयोग लिएको प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 25, 2018 at 10:39 am