१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा म्यान्मारका सैनिक नेताहरुलाई प्रतिबन्ध

२९ माघ, याङ्गुन । म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको छ । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुने बताइएको छ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ ।

कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले प्रतिबन्धको कदम चालेको हो । अमेरिकी राष्ट्रपति बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सुकीसहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गर्नुृ भएको छ ।

मङ्गलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन्। तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कफ्र्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन् । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ०४ बजेसम्म देशभरि निशेधाज्ञा लागु गरिएको छ ।

प्रकाशित मिति : February 11, 2021 at 3:41 pm