विदुरको बाराही वन सेनालाई नदिन स्थानीयद्धारा वनमन्त्री र रक्षासचिवको ध्यानाकर्षण
-प्रशान्तजंग पाण्डे
२७ माघ, नुवाकोट । नुवाकोट विदुरका स्थानीय र बाराही सामुदायिक वन पदाधिकारीले वन नेपाली सेनाको ब्यारक नबनाउन अनुरोध गरेका छन । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका नेता अनुजकुमार श्रेष्ठको अगुवाइमा वन समितिका पदाधिकारीले वनमन्त्री प्रेमबहादुर अाले र रक्षासचिव रेश्मीराज पाण्डेसँग भेटी ध्यानाकर्षण गराएका छन ।
विदुर नगरपालिका २ स्थित बाराही सामुदायिक वनमा नेपाली सेनाको ब्यारेक सार्न लागिएकामा चिन्ता गर्दै यसअघि पनि नुवाकोट सरोकार समाजले उपप्रधानमन्त्री एवं तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराइएको सो समाजका महासचिव समेत रहेका नेता श्रेष्ठले बताउनुभयो ।
मंगलबार समितिकी सचिव लक्ष्मी प्रधान, कोषाध्यक्ष रामेश्वर पाण्डे र समितिकै सदस्य सुनिता कुमालसहित वन र रक्षामन्त्रालय पुगेको टोलीले बस्ती रहेको र नेवार समुदायको सामाजिक कार्यसमेत सो क्षेत्रमा हुने भएकाले त्यहाँ सेनाको कुनै ब्यारेक वा तालिम केन्द्र राख्न नहुने बताएको छ ।

स्थानीयको मतको सम्मान गर्दै सरकारले गर्न सक्नेसम्मको सहयोग गर्ने जानकारी वनमन्त्री अाले र रक्षा सचिव पाण्डेले दिएको जानकारी नेता श्रेष्ठले दिनुभयो ।
बाराही सामूदायिक वनमा ऐतिहासिक महत्वको लिच्छविकालिन बाराही मन्दिर रहेकोछ । बाराही मन्दिरमा स्थानीय नेवार समुदायहरुले विवाह, पास्नी, गुफा संस्कार पछि पुजाआजा गरि पारिवारिक जमघट गरि समे बजी खाने चलनसमेत रहेको छ । टाढा टाढादेखि भक्तजनहरु बाराही मन्दिर दर्शन गर्न आउने गर्दछन् । बाराही मन्दिर हुँदै नुवाकोट भैरवी मन्दिर सम्म पुग्ने पैदलमार्ग समेत सोही वनमा रहेको छ ।
इतिहास अनुसार अंशुवर्माकी छोरी भृकुटीको विवाह तिब्बती राजकुमारसंग भएपछि सोही बाटोहुँदै तिब्बत गएका थिए । विदुर खानेपानी आयोजनको खानेपानीको ट्याङ्की रहेको डाँडामा सेनाले पर्खाल लगाएर आवत जावत बन्द गरेपछि स्थानीय चिन्तित भएका छन् ।
तीव्र सहरीकरणको चपेटामा रहेको विदुरमा रहेको थोरै सामूदायिक वन पनि सेनाको ब्यारेकका लागि उपयोग हुँदा भोलिका दिनमा मानव विकासको विभिन्न आयामहरुमा समेत त्यसको प्रत्यक्ष असर पर्ने भएकाले यस नुवाकोट सरोकार समाज तत्कालका लागि ब्यारेकको वैकल्पिक व्यवस्थाका निम्ति हार्दिक अनुरोध गर्दछौँ ।
यो पनि पढ्नुहोस्
–विदुरको बाराही वन पनि नेपाली सेनालाई, वडा अध्यक्ष र वन समितिका अध्यक्षको भूमिका विवादित
_नुवाकोट विदुरको सामुदायिक वनमा ब्यारेक नराख्न रक्षामन्त्रीको ध्यानाकर्षण
प्रकाशित मिति : February 9, 2021 at 10:30 pm



