विदुरको बाराही वन पनि नेपाली सेनालाई, वडा अध्यक्ष र वन समितिका अध्यक्षको भूमिका विवादित
५ साउन, नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ बट्टार बजारमा रहेको बाराही वनमा सेनाले व्यारेक बनाउने भएकोछ । बाराही सामुदायिक वन समिति र विदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षको संलग्नतामा वन नेपाली सेनालाई हस्तान्तरण गर्न लागिएको हो ।
विदुरमा रहेको सैन्य तालिम केन्द्र मैथिली क्याम्पले यस अघि अधिकृतहरुको परिवार बस्नका लागि आवासिय भवन निर्माण गर्न केही जमिन प्रयोग गर्दै आएको थयो । उक्त जमिनमा मूल सडकबाट प्रवेश गर्ने बाटो खरिद गरेपछि सेनाको बाराही वन कब्जा गर्ने काम शुरु भएको स्थानीयहरु बताउँछन् ।
बाराही वन बट्टार बजारको एउटा मनमोहक डाँडा हो । बारही वनमा ऐतिहासिक महत्त्वको लिच्छविकालिन बाराही मन्दिर रहेकोछ । बाराही मन्दिरमा स्थानीय नेवार समुदायहरुले विवाह, पास्नी, गुफा संस्कार पछि पुजाआजा गरि पारिवारिक जमघट गरि समे बजी खाने गर्दछन् ।
टाढाटाढा देखि भक्तजनहरु दर्शन गर्न आउने बाराही मन्दिर हुँदै नुवाकोट भैरवी मन्दिरसम्म पुग्ने पैदलमार्ग समेत रहेको छ । इतिहास अनुसार अंशुवर्माकी छोरी भृकुटीको तिब्बतका राजकुमारसँग विवाह भएपछि यही बाटो हुँदै तिब्बत गएका थिए । पछिल्लो समय बाराही वनमा रहेको जमिनहरुमा टाठाबाठाहरुको गिद्दे नजर पर्न थालेपछि स्थानीय चिन्तित बनेको विदुर नगरपालिका वडा नम्बर ४ का पूर्व अध्यक्ष गोपालमान श्रेष्ठ बताउँछन ।

भूमाफियाहरु यो वा त्यो बाहानामा जग्गा कुम्ल्याउने दाउमा रहेको देखिन्छ । यसअघि यसै वन भित्र रहेको नागटारी क्षेत्रको सयौं रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो । बजारको विचमा रहेको मनमोहक डाडामा सेनाको व्यारेक बस्नु उपयुक्त नहुने भन्दै नुवाकोट सरोकार समाजका महासचिव अनुजकुमार श्रेष्ठले बस्तीसँगै जोडिने गरी अर्को सैनिक ब्यारेक आवश्यक नरहेको बताएका छन । उनले वन सबै सेनालाइ जिम्मा दिने तयारीको बिरोध गर्न स्थानीयलाइ अपिल समेत गरेका छन ।
विदुर खानेपानी आयोजनाको ट्याक्की निर्माण स्थल रहेको डाँडामा सेनाले पर्खाल लगाएर आवत जावत बन्द गरेपछि स्थानीय त्रसित भएकाछन् । वन भित्रको अर्को महत्त्वपूर्ण क्षेत्रको दुईसय रोपनी क्षेत्र सेनाको जब्बरसिंह गणले अर्को व्यारेक बनाउन माग गरेको सुचना बाहिरिए पछि यो पक्रियामा को(को सहभागी भएका छन भन्ने कुराको पहिचान गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका जिल्ला कमिटी सदस्य नविन प्रधानले बताए । उनले गलत काम स्थापित हुन नदिने अठोट पनि गरे ।
वडा अध्यक्ष वीरेन्द्रकुमार शाही र सामूदायिक वनका अध्यक्ष भुवनलाल राजभण्डारी को यस किसिमको प्रवृतिदेखि स्थानीय झन आक्रोसित भएकाछन् । जब्बरसिंह गणको लागि जग्गा उपलब्ध गराउन वडा अध्यक्षले सिफारिस गरेपछि बाराही सामुदायिक वन समितिले पनि सेनालाई जमिन दिन तयारी गरेको हो । वन समिति र सैन्य अधिकृतहरुको मिलेमतोमा बाराही मन्दिर रहेको डाँडा सेनाले कब्जा गरेको स्थानीयको गुनासो रहेको छ ।
प्रकाशित मिति : July 20, 2020 at 9:57 am



