नुवाकोट विदुरको सामुदायिक वनमा ब्यारेक नराख्न रक्षामन्त्रीको ध्यानाकर्षण
६ साउन, काठमाडाैँ । नुवाकोट सरोकार समाजले विदुर नगरपालिका २ स्थित बाराही सामुदायिक वनमा नेपाली सेनाको ब्यारेक सार्न लागिएकामा चिन्ता गर्दै आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको छ । स्थानीयवासीको बस्ती रहेको र नेवार समुदायको सामाजिक कार्यसमेत सो क्षेत्रमा हुने भएकाले त्यहाँ सेनाको कुनै ब्यारेक वा तालिम केन्द्र राख्न नहुने समाजको भनाइ छ ।
समाजका अध्यक्ष रामशरण प्याकूरेल र महासचिव अनुजकुमार श्रेष्ठसहितको प्रतिनिधिमण्डलले सोबारे ध्यानाकर्षण गराएपछि रक्षामन्त्री पोखरेलले सोबारे स्थानीय निर्वाचित जनप्रतिनिधिमूलक निकाय र प्रशासन बुझेर जानकारी गराउन मन्त्रालयका सचिवमार्फत नेपाली सेनालाई निर्देश गरिने बताउनुभयो ।

उहाँले सेनाले स्थानीय सम्बन्धित पक्षको परामर्श र आफ्नो रणानीतिक आवश्यकताका आधारमा ब्यारेक वा तालीम केन्द्र खोल्ने वा सार्ने भएको पनि स्पष्ट गर्नुभयो । बट्टारस्थित बारही वनमा ऐतिहासिक महत्वको लिच्छविकालीन बाराही मन्दिर रहेको छ । सो मन्दिरमा स्थानीय नेवार समुदायले विवाह, पास्नी, गुफा संस्कारपछि पुजाआजा गरी पारिवारिक जमघट गर्दै आएकाले त्यहाँ सेनाका तालिम केन्द्र नराख्न समाजले आवाज उठाउँदै आएको छ ।
यस्तो छ ध्यानाकर्षण पत्र
उल्लेखित विषयमा बागमती प्रदेश अन्तर्गतको नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर २ वट्टारमा रहेको बाराही सामूदायिक वन नेपाली सेनाले ब्यारेक सार्ने प्रयोजनका लागि लिने प्रक्रिया सुरु गरेको जानकारी गराउँदछौँ ।
उक्त बाराही सामूदायिक वनमा ऐतिहासिक महत्वको लिच्छविकालिन बाराही मन्दिर रहेकोछ । बाराही मन्दिरमा स्थानीय नेवार समुदायहरुले विवाह, पास्नी, गुफा संस्कार पछि पुजाआजा गरि पारिवारिक जमघट गरि समे बजी खाने चलनसमेत रहेको छ । टाढा टाढादेखि भक्तजनहरु बाराही मन्दिर दर्शन गर्न आउने गर्दछन् । बाराही मन्दिर हुँदै नुवाकोट भैरवी मन्दिर सम्म पुग्ने पैदलमार्ग समेत सोही वनमा रहेको छ ।
इतिहास अनुसार अंशुवर्माकी छोरी भृकुटीको विवाह तिब्बती राजकुमारसंग भएपछि सोही बाटोहुँदै तिब्बत गएका थिए । विदुर खानेपानी आयोजनको खानेपानीको ट्याङ्की रहेको डाँडामा सेनाले पर्खाल लगाएर आवत जावत बन्द गरेपछि स्थानीय चिन्तित भएका छन् । वन भित्रको अर्को महत्वपूर्ण क्षेत्रको दुईसय रोपनी जमिन सेनाको जबरसिंह गणले व्यारेक बनाउन माग गरेको छ । त्यसका लागि स्थानीय रुपमा केही प्रक्रिया समेत अघि बढेका कारण सो प्रक्रिया रोकीदिन माननीय उपप्रधान तथा रक्षमन्त्रीज्यू मार्फत अनुरोध गर्दछौँ ।
तीव्र सहरीकरणको चपेटामा रहेको विदुरमा रहेको थोरै सामूदायिक वन पनि सेनाको ब्यारेकका लागि उपयोग हुँदा भोलिका दिनमा मानव विकासको विभिन्न आयामहरुमा समेत त्यसको प्रत्यक्ष असर पर्ने भएकाले यस नुवाकोट सरोकार समाज तत्कालका लागि ब्यारेकको वैकल्पिक व्यवस्थाका निम्ति हार्दिक अनुरोध गर्दछौँ ।

प्रकाशित मिति : July 21, 2020 at 10:33 pm



