नारीलाई अपमान होइन सम्मान गर्न सिकौँः अभिनेत्री ढुंगाना
२६ माघ, काठमाडाैँ । पछिल्लो समय बलात्कार र हत्यापछि शव फेला पर्नु सामान्यजस्तै भएको छ । बुधवार मात्र बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनाले सबैलाई स्तब्ध समेत बनाएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान थालिसकेको छ । पोस्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ । अहिले प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको छ ।
भागरथीको बिभत्स हत्यालाई विभिन्न राजनीतिक पार्टी, समाजसेवी लगायतबाट घटनाको अनुसन्धान गर्नुपर्ने र दोषीलाई कानुनी कठघरमा उभ्याउन माग गरिरहेका छन् । यो घटनाले नेपाली समाजमा अझै छोरीहरू सुरक्षित छैनन् भन्ने बताएकाे छ । देशमा भएरहेकाे बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाली कलाकारहरुले बलात्कारीलाई चाँडो पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग बिभिन्न माध्यमबाट आग्रह गरिरहेका छन् ।
यसैक्रममा अभिनेत्री नीता ढुंगानाले नारीलाई अपमान नभइ सम्मान गर्न आग्रह गरेकी छन् । भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् पोष्ट गर्दै लेखेकी छिन् , ‘नारीकै कोखबाट जन्मिएर नारीकै हातबाट हुर्किएर नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् तर पनि त्यही नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छ ?’
उनि लेख्छिन्, ‘सौन्दर्य शक्ति र शालिनताको अर्को रुप हो नारी, संसारको कुनै रुपसँग पनि तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी । नारीलाई अपमान होइन सम्मान गर्न सिकौँ ।’ भोजपुरी फिल्म ‘माही’ को छायांकनका लागि भारतको आगरामा रहेकी नीताले यस अगाडि विभिन्न पोष्टमार्फत नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चिन्ता व्यक्त गर्दै आइरहेकी थिइन् ।
प्रकाशित मिति : २६ माघ २०७७, सोमबार १५:५१