रूकुममा एकै दिन तीन बालविवाह रद्द
१० असार, रूकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा हिजो तीनवटा विवाह एकै दिन रद्द भएका छन् । विवाहको तयारी भइरहेका बेला बाल सञ्जाल समिति र बाल संरक्षण समितिको पहलमा प्रहरीले विवाह रद्द गराएको हो । त्रिवेणी गाउँपालिका–९ का २० वर्षीय किशोर र सानीभेरी गाउँपालिका–८ कि १७ वर्षीया किशोरी, त्रिवेणी गाउँपालिका–९ का १९ वर्षीय किशोर र सल्यान दार्मा गाउँपालिका–३ की १७ वर्षीया किशोरीका बीचमा हुन लागेको बालविवाह रद्द गरिएको हो ।
चौरजहारी नगरपालिका–१४ का १९ वर्षीय किशोर र सानीभेरी गाउँपालिका–२ की १७ वर्षीया किशोरीबीच हुन लागेको विवाहलाई पनि रद्द गरिएको छ । उमेर नपुगी भएको विवाहलाई रद्द गरेर बालबालिकालाई आ–आफ्नो अभिभावकको जिम्मा लगाइएको छ । उनीहरुलाई सम्झाइबुझाई आफन्तको जिम्मा लगाएको रुकुमेली समाज विकास केन्द्रका बाल संरक्षण अधिकृत रामप्रसाद केसीले जानकारी दिनुभयो । जिल्लामा अलिहेसम्म ३२ वटा बालविवाह रद्द गरिएको छ ।
प्रकाशित मिति : १० असार २०७५, आईतवार ०७:३४