१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी–मुख्यमन्त्री राउत

९ असार, वीरगञ्ज । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को विस्तारित बैठकको आज वीरगञ्जमा उद्घाटन गर्दै उहाँले प्रस्तावित उक्त ऐनमा ५० प्रतिशत महिला प्रहरी रहने व्यवस्था गरिने बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले आगामी दिनमा निजामति सेवा ऐन तथा प्राविधिक सेवा ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिदैं “प्रदेश प्रहरी भनेको प्रदेशको शान्ति सुरक्षाका लागि हो, संघीय सरकारको सुरक्षाका लागि होइन् भन्नुभयो ।”

मुलुकमा संघीयता आइसकेपछि प्रादेशिक शान्ति सुरक्षाको जिम्मा संघीय सरकारको नभई प्रदेश सरकारको भएकाले प्रदेश प्रहरी ऐन ल्याउन लागिएको हो, उहाँले भन्नुभयो, “यो प्रदेशको विकास र समृद्धिका लागि हुलाकी राजमार्ग र सुनकोशी डाइभर्सनको निर्माण हुनुपर्छ ।”
मुख्यमन्त्री राउतले विकासको प्रचुर सम्भावना बोकेको यो प्रदेशमा लगानी गर्न दातृ निकायलाई आग्रह गर्दै प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश पत्रकारिता अध्ययन प्रतिष्ठान स्थापना गर्ने कार्य भएकाले यसबाट पत्रकारिता क्षेत्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानको सभापतित्वमा सम्पन्न सो समारोहमा विगत लामो समयदेखि पर्सामा रही पत्रकारिता क्षेत्रमा काम गर्ने पत्रकार शंकर खतिवडा, जगदीश शर्मा, ईश्वरचन्द्र गौतम, सुदर्शन पाण्डे तथा रामराज्य यादवलाई सम्मान गरिएको थियो ।
एक दिने विस्तारित बैठकमा प्रदेश महासंघको अगामी कार्यदिशा, सांगठनिक व्यवस्थापकीय पक्ष, श्रमजीवी पत्रकार ऐनको कार्यविधि अवस्था र विश्लेषणबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : June 23, 2018 at 5:17 pm