दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई ओली पक्षको आग्रह
१६ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न आयोगले नेकपाका दुवै समूहलाई बोलाएको थियो । तर प्रचण्ड–माधव समूहका नेताहरुले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएको छ ।

ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्नुभएको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताउनुभयो । ‘दल दर्ता अगाडि बढाउनुस्, हामी प्रामिकता दिएर सहयोग गर्छौं भनेका छौं,’ छलफलपछि नेता नेम्वाङले सञ्चारकर्मीहरुलाई भन्नुभयो , ‘आयागले पनि सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौं भनेको छ ।
’ आयोगले दुवै समूहलाई मान्यता नदिएको अवस्थामा दल दर्ता कसरी हुन्छ भन्ने प्रश्नमा नेम्वाङले भन्नुभयो , ‘आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं । केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ ।’
प्रकाशित मिति : 14:08









