७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

रूकुममा बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर

८ असार, रूकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।

सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन, रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–५ का २० वर्षीय दीपक देवकोटा, रुकुम पूर्व सिस्ने–५ का ४० वर्षीय अमर थापा र सोही ठाउँकी ५५ वर्षीया पुतला ऐरी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर घाइते हुनेमा रुकुम पूर्व सिस्ने–५ की ५१ वर्षीया सुधाकुमारी शर्मा, सोही ठाउँका २३ वर्षीय नारायण गौतम, बाँके डुडुवा–५ का ३० वर्षीय अजित ऐरी र अन्य दुईजनाको नाम ठेगाना नखुलेको निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो ।

घाइतेमध्ये समुद्रा, दिलीप, अम्मर, सुधाकुमारी अजित र नाम ठेगाना नखुलेका दुईजनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । उहाँहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइते सबैको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ ।

तीव्र गतिका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडी चालक दाङ, तुल्सीपुर–११, तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । घाइतेलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।

प्रकाशित मिति : 12:33