२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सर्वजनिक जग्गामा घर बनाएर पुल निर्माणमा अबरोध, मुअब्जा लिन अनुरोध गर्दा उल्टै धम्की

-प्रतिमा ढुंगाना 

१५ माघ, नुवाकोट । नुवाकोटको चर्चित झोलुङ्गे पुल प्रकरण पुनः सतहमा आएको छ । गल्छी त्रिशूली मैलुङ्ग स्याफ्रुवेशी रसुवागढी सडक खण्डको देवीघाटमा रहेको झोलुङ्गे पुल विस्थापन गरेर पक्की पुल बनाउन २०७३ सालमै काम सुरू हुनुपर्थ्यो तर अहिलेसम्म पुल निर्माणको कामले खास गति लिन पाएको छ । पुलको एकपटीको भागको केही काम भएको भए पनि विदुर नगरपालिका वडा नम्बर ५ मा पटीको भागमा काम हुन सकेको छैन ।

काम हुन नसक्नुको मुख्य कारण मुलको मुखमा सार्वजनिक जग्गा समेत मिचेर घर बनाउने माधवकुमार गजुरेल हुन । उनले राजनीतिक शक्तिको आडमा पुल निर्माण अघि बढ्न दिएका छैनन् । राष्ट्रिय गौरवको आयोजनाको मान्यता पाएर काम भैरहेको ठाउँमा एक जना व्यक्तिको कारण पुल निर्माणले गति लिन नसक्नु लज्जाको विषय हो । सार्वजनिक जग्गामा बनेको घर भए पनि गल्छी त्रिशूली मैलुङ्ग स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाले गजुरेललाइ मुअब्जा लिन अनुरोध गरेको थियो ।

मंगलबार गजुरेलको घर नजिक वडा अध्यक्ष शिव चित्रकारसहितको उपस्थितिमा भएको छलफलमा उल्टै गजुरेलले आयोजनाका इन्जिनियर र कर्मीचारीलाइ धम्की दिएपछि इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन । उजुरीमा ज्यानको तलमाथि हुन सक्ने भएकाले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन अनुरोध गरिएको सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । प्रमुख भण्डारीले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालसँग सुरक्षाको प्रत्याभूति गराई निर्माण कार्य अगाडि बढाउन सहजीकरण गरिदिन र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग पनि गरेका छन ।

भण्डारीसहितका इन्जिनियरले प्रशासनलाइ लेखेको पत्रमा भनिएको छ । ‘जनताहरूलाई समेत उत्तेजित पारी अपमानजन्य हरकत गरेको र भविष्यमा पनि विभिन्न किसिमको हरकत गर्न सक्ने जस्तै फसाउने नियतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग गर्न सक्ने, यात्रामा ज्यानको खतरा हुने सक्ने, अफिस–निवासमा फसाउने एवं आक्रमण हुन सक्ने, निर्माण व्यवसायीलाई हातपात गर्न सक्ने लगायत जुनसुकै हरकत गर्न सक्ने अवस्था सिर्जना हुने देखिएको कार्यालय परिवार निर्माण व्यवसायी परिवार लगायत सम्बन्धित निर्माण कार्यमा संलग्नको पूर्ण सुरक्षाको प्रत्याभूति गराई निर्माण कार्य अगाडि बढाउन सहजीकरण गरिदिनु हुन र निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही हुन अनुरोध छ ।’

निवेदनमा अगाडी भनिएको छ ‘सम्बन्धित वडाको वडाध्यक्षको आग्रहमा मंगलबार बिहान १० बजे साइटमै बसी त्यहाँका सरोकारवालासँग बसेर छलफल गरी विवाद टुङ्ग्याउने भनी आग्रह भयअनुसार उक्त पुलको साइटको दायाँ तर्फको घरमा छलफल भइरहेको बेलामा उक्त घरका घरमुली पवित्रा पुडासैनीको श्रीमान् ९माधव गजुरेल०ले त्यस पुलको निर्माण कार्य गरेमा आयोजना प्रमुख बाँचेर मात्र देखा, मेरो भन्नु केही छैन र अहिले यहीँ हान्दिन्थे तर अरू मार्फत हान्न लगाउँछु म समाजको अगाडी बोलेको हो भनेपछि सुरक्षाका कारण त्यहाँबाट निस्किएका हौँ ।’

सार्वजनिक जग्गासमेत मिचेर बनाइएको घरमा लालपुर्जाअनुसार नियमानुसार पाउने क्षतिपूर्ति निर्धारण भईसकेपनि हरेक पटक नयाँ नयाँ बखेडा झिक्दै गजुरेलले पुल निर्माणमा अवरोध गरिरहेको इन्जिनियहरहरूले बताएका छन ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १०:२५