१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन समिति विस्तार

८ माघ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको वागमती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिनु भएको छ ।

त्यसैगरी समितिका सदस्यहरूमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजय सिंह कार्की, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्का, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष समिर विक्रम शाह चुनिनु भएको छ ।

त्यसैगरी विशेष आमन्त्रित सदस्यहरूमा बझाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सविनलाल प्रधान, नारायण गोपाल श्रेष्ठ, गलैचा व्यवसायी दावा शेर्पा, विरगंज उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सुशान्त चचान, नेपाल तयारी पोशाक उद्योग संघको महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासंघ नेपालका रुकमणिदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभुषण संघका उपाध्यक्ष सुमन ताम्राकार हुनुहुन्छ ।

महासंघका पूर्व कार्यकारिणी समिति सदस्य राजन शर्मा, नेपाल चिया उत्पादक संघका सल्लाहकार उदय चापागाई, नेपाल हव्र्स एण्ड हर्वल संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे समितिको सल्लाहकारमा चुनिनु भएको छ ।
समितिमा चुनिएका उद्यमी व्यवसायीहरूलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको निर्यात प्रवद्र्धनमा समितिले सक्रियतापूर्वक कार्य गरी सिंगो समितिले निर्यात प्रवद्र्धनको विषयमा विज्ञ समूहको रुपमा काम गर्ने विश्वास आफूले गरेको बताउनु भयो ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिले उद्यमी व्यवसायीहरूले निर्यातका क्रममा भोग्नु परेका समस्याको पहिचान गर्दै समाधानतर्फ सरकारमा ठोस सुझाव दिन सक्रियतापूर्वक लाग्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले समितिले निर्यात प्रवद्र्धनका हरेक इस्यूहरूमा समितिका तर्फबाट ठोस कार्य गर्ने विश्वास प्रकट गर्दै समितिमा चुनिनु भएका सवैलाई बधाई सहित शुभकामना दिनु भयो ।

प्रकाशित मिति : January 21, 2021 at 5:38 pm