२३ पुष २०८१, मंगलवार | Wed Jan 8 2025

नयाँ कानून परिमार्जन आवश्यक छः मन्त्री तामाङ

५ असार, भक्तपुर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कतिपय नयाँ बनेका कानूनहरु पनि परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

भक्तपुरमा सहकारी बैंकले आयोजना गरेको सहकारीसँगको अन्तक्र्रियामा उहाँले नयाँ संविधान लागू भएपछि जारी भएका ऐन पनि परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नयाँ सहकारी ऐन जारी भइसके पनि सो ऐन संशोधन गर्नसके मात्रै कार्यान्वयनमा आउने भएकाले ऐन संशोधन गर्न मन्त्रालय लागिपरेको बताउनुभयो ।

आर्थिक ऐनको व्यवस्थाले अन्य ऐनको व्यवस्थालाई काट्दा ऐन नै विवादित र बाझिने अवस्था आएको भन्दै उहाँले एकअर्कामा नबाझिने गरी ऐन संशोधन हुनुपर्ने बताउनुभयो ।

सहकारी ऐनमा क्षेत्रगत वर्गीकरणका आधारमा कर तिर्ने र कर छुटको व्यवस्था गरिएको भए पनि आर्थिक ऐनले सबैलाई एउटै दायरामा कर तिर्नुपर्ने बाध्यता बनाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सहकारी ऐनलाई आर्थिक ऐनले काटेको छ, जसका कारण कतिपय सहकारी ऐन कार्यान्वयनमा आउने अवस्थामा छैन, यसले सहकारी मर्कामा परेका छन् ।”

सांसद महेश बस्नेतले सहकारीमा जम्मा भएका पुँजीलाई उत्पादन र उद्योगमा लगानी गरेर रोजगारी, आर्थिक उन्तति र उत्पादनसँग जोडेर लैजान सहकारीकर्मीलाई आग्रह गर्नुभयो ।
बैंकका सञ्चालक तथा कार्यकारी प्रमुख केबी उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ठ कारोबार गर्ने शुभकामना बचत तथा ऋण सहकारी संस्था र पारिजात बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार २०:०६