७ असार २०८३, आइतबार | Sun Jun 21 2026

भ्रम नपाल्नुस्, केपी ओली, नेकपा र सूर्य छुट्टिदैनः उपप्रधानमन्त्री पोखरेल

२३ पुस, काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा र सूर्य चिह्न प्रधानमन्त्री केपी ओलीकै पक्षमा हुने ठोकुवा गर्नुभएको छ । कानुनी रूपमा नेकपा विभाजन भइनसकेकाले प्रथम अध्यक्ष जहाँ हो, नेकपा र सूर्य त्यहीँ रहने उपप्रधानमन्त्री पोखरेलले ठोकुवा गर्नुभएको हो ।

‘जहाँ केपी ओली, नेकपा र सूर्य त्यहीँ हुन्छ, यस्मा कुनै भ्रम नपाल्दा हुन्छ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । धनुषा, सिरहाको अभियान सकाएर सिन्धुली आइपुग्नुभएका नेकपा सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले रातमाटामा आज आयोजित अगुवा कार्यकर्ता भेलामा यस्तो बताउनु भयो । उहाँले आगामी वैशाखमा चुनाव हुनेमा शंका नगर्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्रीले ताजा जनादेश लिन निर्वाचन मिति घोषणा गरी सुरक्षा निकाय र निर्वाचन आयोगसँगसमेत छलफल गरिसकेको उहाँको भनाई थियो ।

‘निर्वाचन हुन्छ, सबै लागौं, मतभेदका जे–जे कुरा छन, त्यो सबै निर्वाचनको परिणामले मिलाउँछ,’ नेता पोखरेलले भन्नुभयो, ‘निर्वाचनबाट भाग्ने कुरै छैन ।’ ताजा जनादेशका लागि प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई जवाफ दिइसकेकाले अदालतबाट यस निर्णयमा ‘दायाँबायाँ’ नहुने बिश्वास पनि उहाँले राख्नुभयो । उहाँले नेकपा विभाजनमा कात्तिक २८ गतेको पुष्पकमल दाहालको आरोपपत्र नै मुख्य कारण भएको बताउनु भयो । पार्टी एकता टुट्दा सबैभन्दा घाटा दाहाललाई नै हुने भन्दै आफूले प्रचण्डसँग कुरा गरेको पनि पोखरेलले सुनाउनु भयो ।

‘पछिल्लो पटक प्रचण्डसँग भेट्दा तपाईंहरूले संकट सिर्जना गर्दै हुनुहुन्छ, यसको सबैभन्दा दुःखद परिणाम तपाईंले भोग्नुपर्छ भन्दा एकदम सही कुरा गर्नुभयो, मनकै कुरा गर्नुभयो, भन्नुहुन्छ । अनि के भन्ने ? म त त्यहीँ थला परेँ नि,’ पोखरेलले भन्नुभयो । उहाँले प्रचण्डले एकताको केही समयदेखि नै पदलाई केन्द्रमा राखेर बिभाजनको गृहकार्य अघि बढाएको र अर्का पदलोलुपको साथ पाउन साथ यस्तो काम गरेको बिभिन्न तथ्य पनि राख्नुभयो ।

प्रकाशित मिति : January 7, 2021 at 5:55 am