५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि आईपीओ निष्काशन गर्दै

२१ पुस, काठमाडाैँ ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले  सर्वसाधारणका लागि माघ २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यो नेपाली धितोपत्र बजारकै हालसम्मको ठूलो आईपीओ हो। बैंकले जारी पूँजी २० अर्बको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ करोड कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिनेछ। सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिने सक्नेछन्।

बैंकको सो आईपीओमा माघ २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १६ गतेसम्म थपिनेछ। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ। हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँबराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।

प्रकाशित मिति : January 5, 2021 at 9:50 am