२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रतिनिधिसभा कुनै पनि हालतमा पुनर्स्थापना हुँदैन : प्रधानमन्त्री ओली

१८ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताउनुभएकाे छ । काठमाडौँ जिल्लाका आफू पक्षका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने बताउनुभएकाे हाे ।

प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै उहाँले पुनर्स्थापना हुनै नसक्ने बताउनुभयाे । उहाँले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताउनुभयाे । उहाँले बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने बताउनुभयाे ।

उहाँले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको बताउनुभयाे । ‘प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर ? पुनर्स्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन भन्नुभएको होला,’ प्रधानमन्त्रीको भनाइ थियो ।

उहाँले अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको समेत बताउनुभयाे। ‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न नै दिनुभयो ।’ उहाँले भन्नुभयाे।प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रकाशित मिति : 17:53