२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

८ मन्त्रीले लिए सपथ, अन्यको जिम्मेवारी हेरफेर, कसको जिम्मेवारी के ?

१० पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन । प्रधानमन्त्री ओलीले ८ मन्त्री थपेर, केहीको जिम्मेवारी हेरफेर गरेर मन्त्रीपरिषद् विस्तार गरेका हुन ।

नेपाल सरकारका नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ मन्त्रीहरू थप गरी मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा आजै साँझ राष्ट्रपतिबाट शपथ लिएका हुन्।

पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जामन्त्री भएका छन्। त्यस्तै मणि थापा खानेपानी, प्रभु साह सहरी विकास र प्रेम आले वनमन्त्री भएका छन्।

त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुदमन्त्री भएका छन्। जुलीकुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन्।

हाल भूमि व्यवस्थामन्त्री रहेकी पद्मा अर्याललाई पुनर्गठित मन्त्रिपरिषदमा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

सरकारकाे सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट समूह पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेकाे मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले आज नयाँ मन्त्री नियुक्त गरेका हुन्।

प्रकाशित मिति : 20:02