३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

तनहुँको उमाचोक सुन्तलाखेती जिल्लाकै नमूना


१ पुस, तनहुँ । म्याग्दे गाउँपालिका–२ उमाचोक गाउँ सुन्तलाखेतीका लागि जिल्लाकै नमूना बगैँचाको रुपमा स्थापित भएको छ । अन्य क्षेत्रका सुन्तला उत्पादनमा भारी ह्रास आए पनि उक्त क्षेत्रमा नगण्य मात्रमा उत्पादनमा कमि आएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।उमाचोक सुन्तला ब्लक सञ्चालक समितिलाई चालू आर्थिक वर्षमा रु २२ लाख ७२ हजार ४९३ सहयोग गरिएको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताउनुभयो ।

सुन्तला खेती विस्तार, रोग निवारण, साना सिँचाइ कार्यक्रम, सुन्तला बिरुवा रोपण, बगैँचा सुदृढीकरणलगायत उक्त रकमको व्यवस्था गरिएको हो । उहाँले भन्नुभयो, “कृषकको लागत सहभागितासमेत गरी रु ४० लाख रहेको छ ।” आर्थिक वर्ष २०७६/७७ मा पनि समितिलाई लागत सहभागिताको लागि रु १३ लाख ७६ हजार ७७१ सहयोग रकम प्रदान गरिएको थियो । यहाँका कृषक सुन्तला बेचेर राम्रै आम्दानी गर्दै आएका छन् ।

व्यावसायिक कृषकले वार्षिक रु पाँच लाखदेखि रु ६५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । उमाचोक गाउँका कृषक सुन्तला बेचेर मनग्गे आम्दानी लिन थालेसँगै सोही पालिकाको छिमेकी वडा १ र ३ का कृषक पनि उमाचोक सुन्तला ब्लक सञ्चालक समितिमा आबद्ध भई व्यावसायिक सुन्तलाखेती तर्फ लागेका छन् ।

यस वर्ष उमाचोक गाउँबाट मात्रै रु दुई करोड दुई लाख बराबरको सुन्तला बिक्री गरेका छन् । उक्त उत्पादन गत वर्षको तुलनामा रु २२ कमी हो । गत वर्ष उक्त गाउँबाट रु दुई करोड २२ लाखको सुन्तला बिक्री भएको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिका संयोजक निर्मल अधिकारीले जानकारी दिनुभयो ।

गाउँमा सबैभन्दा धेरै सुकनारायण श्रेष्ठले रु ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ । उहाँले गत वर्ष रु ६५ लाखको सुन्तला बिक्री गर्नुभएको थियो । अर्का कृषक रामबहादुर थापाले यो वर्ष रु १६ लाखको सुन्तला बिक्री गरेको बताउनुभयो । अहिले वर्ष पानी धेरै परेकोले सुन्तलाका दाना साना लागेको र ढिलो गरी पाकेकोले केही उत्पादन घटेको उहाँको भनाइ छ ।

यहाँ उत्पादन भएका सुन्तला दमौली, पोखरा, चितवन, काठमाडौँलगायत ठाउँमा निर्यात हुँदै गरिँदै आएको कृषक बताउँछन् । उमाचोक पालिकाकै नमूना सुन्तला खेतीका रुपमा परिचित भएकोले सुन्तला ढुवानीलाई सहज बनाउन सडक मार्गको स्तरोन्नति कार्य भइरहेको म्याग्दे गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरेले बताउनुभयो ।

उमाचोक ब्लक क्षेत्रमा १५० हेक्टर जमिनमा सुन्तला खेती गरिएको छ भने २३५ घरधुरी आवद्ध भएका छन् । उक्त क्षेत्रमा कूल २७ हजार ९१३ वटा सुन्तलाका बिरुवा लगाइएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

सुन्तला खेती प्रवद्धनको लागि नयाँ सम्भावित भएका क्षेत्रमा गत वर्ष मात्रै उमाचोक र घिरिङ गाउँपालिकाको उवाचोकमा १० हजार सुन्तलाका बिरुवा वितरण गरिएको छ । जिल्लाको शुक्लागण्डकी–११ राइपुर, व्यासनगरपालिका–११ र १३ को तनहुँसुर र बेनीकोट, देवघाट गाउँपालिका २, ३ र ४ छिपछिपे बैदी, कोटबैदी, भिमाद नगरपालिका–९ को भानुमतिलगायत क्षेत्र सुन्तला खेतीको लागि पकेट क्षेत्र छन् ।

उक्त क्षेत्रका अधिकांश सुन्तलाका बोट मर्दै गएपछि सुन्तला खेती सम्भावित स्थानको खोजी गर्दै विस्तार गर्ने योजना कृषि ज्ञान केन्द्रको रहेको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा केही दिनअघि मात्रै उक्त स्थानको स्थलगत अवलोकन गरेको थियो ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार १२:५९