नेकपा स्थायी कमिटी आज, कार्यसूची बिनाको पहिलो बैठक
२१ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि झण्डै तीन महिना लगाएर पार्टीका दुइ अध्यक्षको बीचमा कार्यविभाजनको स्पष्टता गरेको बैठकले यसपटक फेरि शीर्ष नेतृत्वको विवाद मिलाउने अपेक्षा गरिएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको एउटाको आरोपपत्र अर्का अध्यक्षले दिएको जवाफ स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने भन्नेबाहेक कुनै कार्यसूची नभएको नेताहरूले जनाएका छन ।

यसअघि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकले स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे बस्ने र त्यसमा अध्यक्षद्धयको सवाल जावाफको लिखित दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको थियो । नेकपामा यसअघि भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले अध्यक्षद्धयको कार्यविभाजनमा स्पष्टता गरेको थियो ।
कार्यसूची बिनाको बैठक
नेकपामा यसअघि सचिवालय बैठकले स्थायी कमिटी बैठकमा छलफलका लागि एजेण्डा तय गर्ने गरेको थियो । तर यसपटक सचिवालयले स्थायी कमिटी बैठककै लागि भनेर कुनै त्यस्तो एजेण्ड तय गरेको छैन । बैठकका लागि कुनै त्यस्तो एजेण्डा नभएको कारण प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले आजको बैठकमा विषयमा असन्तुष्टि राख्नु भएको थियो ।
प्रकाशित मिति : 10:52









