३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

व्यवसायीलाई सम्बोधन गर्नेगरी विज्ञापनसम्बन्धी ऐन ल्याउँछौँः मन्त्री बाँस्कोटा

१ असार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवसायको प्रवद्र्धन, सामाजिक मर्यादा पालना र सार्वभौमिकताको रक्षा गर्नेगरी विज्ञापनसम्बन्धी ऐन ल्याउन लागिएको बताउनुभएको छ ।विज्ञापनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी आज सञ्चार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री बाँँस्कोटाले सरोकारवाला पक्षबाट प्राप्त हुने रचनात्मक सुझावलाई समेटेर छिट्टै ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजमा क्रियाशील व्यवसायीलाई सम्बोधन गर्नेगरी ऐन, नियम बनाउने पक्षमा सरकार रहेको स्पष्ट गर्दै उहाँले विज्ञापनसम्बन्धी कारोवारलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याउन लागेको ऐनलाई जनमुखी एवम् व्यवसाय मैत्री बनाउन आवश्यक विकल्प सहितको सुझाव उपलब्ध गराई सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले विज्ञापन बोर्डको गठन गरी विज्ञापनसम्बन्धी कारोबारलाई व्यवस्थित र जवाफदेही बनाउन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा सरोकारवाला पक्षले विज्ञापन बोर्डमा विज्ञापन एजेन्सी र मिडिया सोसाइटीको पनि प्रतिनिधित्व हुनुपर्ने, विज्ञापन नीति समानुपातिक बनाइनुपर्ने, विज्ञापनसम्बन्धी दररेटको मापदण्ड तोक्नुपर्ने, आमसञ्चार माध्यमको वैज्ञानिक एवम् वस्तुपरक हिसाबले वर्गीकरण हुनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।

सो विधेयकमा होर्डिङ बोर्डबाट विज्ञापन गर्न नपाइने, सहुलियत दर वा निःशुल्क विज्ञापन गर्नुपर्ने, विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने, विज्ञापनको वर्गीकरण र नियमन, विज्ञापन बोर्डको गठन, सजाय, सङ्क्रमणकालीन व्यवस्थालगायत २९ वटा प्रावधान समेटिएको छ ।

प्रकाशित मिति : June 15, 2018 at 7:29 pm