६ असार २०८३, शनिबार | Sun Jun 21 2026

बीमा समितिलाई कोरोना बीमाको दाबी भुक्तानी ३ दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन

१८ मंसिर, काठमाडाैँ । कोरोना बीमाकाे दाबी भुक्तानी ३ दिनभित्र गर्न बीमा  समितिलाई अर्थ मन्त्रालयले निर्देशन दिएकाे छ । यस अघि ७ दिन भित्र दाबी भुक्तानी गर्ने निर्देशन दिएको भएपनि त्यस अनुसार नभएको भन्दै अर्थमन्त्रालयले समितिलाई फेरि पत्र काटेको हो ।

मन्त्रालयले बीमा समिति, नेपाल बीमंक संघ र राष्टिय बीमा कम्पनीलाई चार बुँदे निर्देशन दिएको छ । कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी दिन अर्थमन्त्रालयले निर्देशन दिएको छ ।

त्यस्तै भेरिफिकेशन गर्न बाँकी दाबीको भेरिफिकेशन पनि यथाशीघ्र गरी भुक्तानी दिने व्यवस्था मिलाउन, कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् त्यसबोर मन्त्रालयमा जानकारी दिन पनि समितिलाई निर्देशन दिइएकाे छ ।

यस्तै मन्त्रालयले हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेन्डिङमा छ, त्यसको विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के कति प्रयास भइरहेको छ, अर्थ मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के छन् । यसको विस्तृत विवरण पठाउन पनि पत्र काटेको छ ।

यसैगरी कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, भेरीफिकेशन नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न मन्त्रालयले समितिलाई पत्र काटेको छ ।

प्रकाशित मिति : December 3, 2020 at 6:04 pm