विश्वकप फुटबलमा रुसको विजयी सुरुवात, साउदीविरुद्ध ५–० को ऐतिहासिक जित दर्ता
३१ जेठ, काठमाडौँ । २१ औँ संस्करणको विश्वकप फुटबलमा अयोजक रुसले विजयी सुरुवात गरेको छ । साउदी अरेवियाविरुद्ध ५–० को ऐतिहासिक जित दर्ता गरेको छ । सन १९३४ पछिको उद्घाटन खेलमा सबैभन्दा बढी गोलअन्तरमा पहिले खेल जित्ने रेकर्ड पनि रुसले कायम गरेको छ । यो सन् १९३४ यता आयोजक राष्ट्रले उद्घाटन खेलमा हात पारेको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सन् १९३४ मा इटालीले अमेरिकालाई ७–१ ले हराएको थियो । रुसका लागि खेल सुरु भएको १२ औं मिनेटमा ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेका थिए । अलेक्सान्द्र गोलोभिनले दिएको पासमा उनले हेडमार्फत गोल गरेका थिए ।
त्यस्तै पहिलो हाफको ४३ औँ मिनेटमा रुसका लागि डेनिस चेरिसेवले दोस्रो गोल गरेका थिए । उनले साउदी अरेबियाका तीन जना डिफेन्डरलाई छक्याउँदै बललाई जाली चुमाएका थिए । खेलको ७० औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका आर्तेम जुबाले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै रुसलाई ३–० को अग्रता दिलाएका थिए । उनले मैदान प्रवेश गरेको ८९ सेकेन्डमै गोल गरेका हुन् ।
रुसी खेलाडी डेनिस चेरिसेवले इन्जुरी समयकाे पहिलाे मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई ४–० को अग्रता दिलाएका थिए । खेल सकिन केही मिनेट बाँकी रहँदा पाएकाे फ्रीकिकलाई गाेलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई ५-० काे जित दिलाएका हुन् ।
प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार २२:५९