११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

बाढी पीडितलाई जापानबाट आर्थिक सहयोग

३० जेठ,म्याग्दी । अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीका बाढीबाट पीडित वासिन्दाका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।हाल जापानमा रहनुभएका भुरुङ तातोपानीका सन्तोष थापामगरको पहलमा जापानको तोचीगीस्थित लाफा क्लबले रु एक लाख ३० हजार आर्थिक सहयोग गरेको हो ।

क्लबका कोषाध्यक्षसमेत रहनुभएका थापाले गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र वडाध्यक्ष ओमप्रकाश फगामीको नाममा गरिमा विकास बैंकको पोखरेबगर शाखामा खोलिएको खातामा उक्त रकम जम्मा गर्नुभएको छ ।

वैशाख २९ गतेको भुरुङ तातोपानीका पीडित र सम्भावित विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन शुरु गरिएको अभियानमा हालसम्म रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको नेपाल रेडक्रस सोसाइटीको उपशाखाले वडाध्यक्ष नरसिङ पुर्जामार्फत रु २० हजार १५५ उपलब्ध गराएको छ ।बाढीले चार घर पूर्ण र १३ घरमा आंशिक गरी करीब रु एक करोडको क्षति गरेको थियो ।

जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङले उपलब्ध गराएको तारजालीमा ग्याबिन पर्खाल बनाएर बाढी पहिरो नियन्त्रणको काम शुरु गर्ने तयारी भएको वडाध्यक्ष फगामीले बताउनुभयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार ०८:१४