८ असार २०८३, सोमबार | Mon Jun 22 2026

फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछः मन्त्री भट्टराई

२५ कात्तिक, ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताउनुभएको छ । फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले फाल्गुनन्दका उपदेश र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम हुनसक्ने बताउनुभयो ।

शुभकामना सन्देशमा समाज सुधारका लागि फाल्गुनन्दले पुर्याएको योगदानको चर्चा गर्दै सबैमा उहाँको मार्गदर्शनमा अगाडि बढ्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ । विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिनुभएका फाल्गुनन्दले जीवनको सबै समय कुरीति र कुसंस्कारमा जकडिएको समाज सुधारमा खर्चिएको भन्दै मन्त्री भट्टराईले विश्व समुदायको सुधारका लागि पुर्याएका योगदानको स्मरण गर्नुभएको छ ।

जीवनको अन्तिम समयसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लाग्नुभएका फाल्गुनन्दले विसं १९८८ मा स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’ को नीति विश्व समुदायले अनुशरण गर्ने गरेको आफ्नो शुभकामना सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : November 10, 2020 at 1:43 pm