२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध दर्ता भएकाे अविश्वासकाे प्रस्ताव फिर्ता हुने, यस्ताे बन्याे सहमति

४ कात्तिक, काठमाडाैँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध दर्ता भएकाे अविश्वासकाे प्रस्ताव फिर्ता हुने भएकाे छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” बीच मंगलबार बिहान भएकाे भेटघाटमा उक्त सहमति भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

छलफलमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे निर्णय बदर गर्ने निर्णय भएकाे समेत सल्लाहकार थापाले जानकारी दिए । यस्तै प्रमुख सचेतकमा  नियुक्त सीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतक कायम गर्ने निर्णय गरेकाे उनले बताए ।

यस्तो छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जारी गरेकाे प्रेस नोटः

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु :

१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३. मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र
४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यस बारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

सूर्य थापा
प्रेस सल्लाहकार
४ कात्तिक २०७७

प्रकाशित मिति : 17:38