६४९ स्थानीय तहमा मंसिर १५ गते एकैदिन ५ देखि १५ बेडका अस्पतालको शिलान्यास हुने
३ कातिक, काठमाडाैँ । सरकारले ६४९ स्थानीय तहमा मंसिर १५ गते एकैदिन ५ देखि १५ बेडका अस्पतालको शिलान्यास गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पाैडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा कातिक २ गते अर्थमन्त्रालयमा भएको बैठकले मंसिर १५ गते सबै स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने निर्णय गरेको हो । अहिलेसम्म ६४९ स्थानीय तहमा एउटा पनि अस्पताल रहेको छैन । यसअघि मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री ढकालले ६४९ स्थानीय तहमा कम्तीमा ५ बेडको अस्पताल निर्माणको निर्णय गरेका थिए ।

बैठकले अस्पतालहरूको ड्रोइङ र डिजाइन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसअघि नै तयार गरी सम्बन्धित स्थानीय तहमा पठाउने छ । बैठकले आइसियु, एचडियू, भेन्टिलेटर लगायतका उपकरण खरिदको प्रक्रिया मन्त्रालयले अघि बढाउने र त्यसका लागि अर्थमन्त्रालयले स्रोतको व्यवस्थापन गर्ने निर्णय पनि भएको छ । साथै आपत्कालीन अवस्थामा प्रयोग हुने औषधिहरूको व्यवस्थापन सहज बनाउन साविकको औषधि एेनमा परिमार्जनका लागि स्वास्थ्यम मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : 18:47









