१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

उपप्रधानमन्त्री पोखरेलको जिम्मेवारीबारे प्रधानमन्त्रीका सल्लाहकार थापाको विश्लेषण

२९ असोज, काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री इश्वर पोखरेलको जिम्मेवारीका विषयमा विभिन्न टीका टिप्पणी भैरहेको सन्दर्भमा प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले पनि जिम्मेवारीको विषयमा विश्लेषण गर्नुभएको छ । थापाले सकारात्मक र नकारात्मक दुबै खालका टिप्पणी र विश्लेषण मिथ्या सावित गरेर पार्टी, सरकार र राष्ट्रकाे सही छनाेटका रूपमा जनमानसमाझ वाहवाही बनाउन सक्नुहाेस भन्दै शुभकामना दिनुभएको छ ।

पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेल ।

थापाको विश्लेषण यस्तो छ

उपप्रधानमन्त्री ईश्वर पाेखरेलले आज ३:४५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय,सिहदरबारस्थित आप्नाे नयाँ कार्यकक्षमा पदबहाली गर्नुभएको छ । क्याबिनेटमा दाेस्राे बरियतामा रहेर उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकाे विभागीय नेतृत्व सम्हाल्नु हुनेछ, जहाँ पाँच जना सचिवहरूले विभिन्न क्षेत्रका कामहरू हेर्ने कार्य क्षेत्र रहेकाे छ ।

विभिन्न केन्द्र, विभाग र कार्यालयहरू मातहतमा छन्, जसलाई क्रियाशील बनाउनुपर्ने अहिलेकाे टड्काराे आवश्यकता महसुस भएकाे छ । राष्ट्रिय गाैरवका आयाेजनाहरूकाे कार्य प्रगतिलाई गति प्रदान गर्नुपर्ने छ । र, सर्वाेपरि रूपमा सम्माननीय प्रधानमन्त्रीकाे नेतृत्वलाई बलियाे र परिणाममुखी बनाउने गरी कार्यसम्पादन गर्नुपर्ने भएकाे छ ।

नेपालमा अन्य बेग्लै मन्त्रालयबेगर प्रधानमन्त्री पछिका क्याबिनेट सदस्य, उपप्रधानमन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा नै जिम्मेवारी ताेकेर कार्यविभाजन गरिएको याे पहिलाेपटक हाे । यसअघि बिनाविभागीय मन्त्री रहने लगायतकाे अभ्यास रहिआएको थियाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले करिब तीन वर्षअघि नै यश प्रकारकाे जिम्मेवारी सम्हाल्ने गरी मन्त्रिपरिषदमा सहभागी बनाउन खाेज्नुभएकाे च्रर्चा व्यापक हुँदा २०७४ फागुन ११गते रक्षामन्त्री बन्नु भएकाे थियाे । र, २०७५ जेठ १८ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्रीकाे जिम्मेवारी पाउनुभएकाे थियाे ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमाेहन अधिकारीकाे प्रमुख राजनीतिक सल्लाहकार रहनुभएका उहाँ शेरबहादुर देउवाकाे नेतृत्वमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री र डा. बाबुराम भट्टराईकाे नेतृत्वमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहिसक्नु भएको छ । र, प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा विगत २ बर्ष ७ महिनायता उपप्रधानमन्त्री तथा रक्षामन्त्री रहँदै आउनु भएकाे सर्वविदितै छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा ।

२०३२ सालदेखि पूर्णकालीन र भूमिगत भएर तत्कालीन नेकपा(माले)काे केन्द्रीय सदस्यका रूपमा क्रियाशील उहाँले जनकपुर, लुम्बिनी, बागमती र राजधानी उपत्यकाकाे पार्टी कामकाे नेतृत्व गर्नुभएको थियाे । नेकपा(एमाले)काे आठाैं र नवाै महाधिवेशनबाट दुई पटक महासचिव निर्वाचित भएर सफलताका साथ नेतृत्व गर्नुभएका उहाँले त्यसअघि केन्द्रीय कार्यालय सचिव, प्रचार विभाग प्रमुख, संगठन विभाग प्रमुख, केन्द्रीय सचिवालय सचिव लगायतकाे नेतृत्व गर्नुभएको पाइन्छ । उहाँले हाल पार्टीको केन्द्रीय सचिवालय सदस्य र पार्टी स्कुल विभाग प्रमुखकाे जिम्मेवारी बहन गरिरहनु भएको अवगत नै छ ।

अब यस नयाँ जिम्मेवारीमा आफूलाई खराे रूपमा प्रस्तुत गरी निरन्तर सफलता हासिल गर्न सक्नुहाेस। र, बढुवा, घटुवा, खाेसुवाजस्ता मुण्डमुण्ड बुद्धि विलासमा सक्रिय शुभेच्छुक र विराेधी दुबैथरिका विश्लेषण र पूर्वानुमान वा आशंकालाई मिथ्या सावित गरेर पार्टी, सरकार र राष्ट्रकाे सही छनाेटका रूपमा जनमानसमाझ वाहवाही बनाउन सक्नुहाेस, हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु ।

प्रकाशित मिति : 22:10