१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाका मजदुरको आन्दोलन स्थगित

२४ असोज, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन् । पिसिआर परीक्षण गर्न माग गर्दै शुक्रबारदेखि आन्दोलित मजदुरले आज आन्दोलन स्थगित गरेका हुन् । आयोजनाको दोस्रो प्याकेजअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरले परिवारसहित आफूहरुको पिसिआर परीक्षण गर्नुपर्ने, पिसिआर परीक्षणको रिपोर्ट नआउँदासम्म क्वारेन्टिन बस्दा पनि सेवा सुविधा पाउनुपर्ने मागसहित आन्दोलन गरेका थिए ।

जलविद्युत् आयोजना, निर्माण कम्पनी र मजदुरबीच भएको छलफलमा पिसिआर परीक्षण गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरेको सिनो हाइड्रो मजदुर युनियनका संयोजक आशिष श्रेष्ठले बताउनुभयो । “हाम्रो मागमा निर्माण कम्पनी सहमत भएको छ, “एक जना मजदुरलाई कोरोना सङ्क्रमण भएको र पहिलो चरणमा उहाँको सम्पर्कमा आएकाको पिसिआर परीक्षण गर्ने तयारी भएको छ ।”

निर्माण कम्पनीले पिसिआर परीक्षणका लागि काठमाडौँबाट स्वास्थ्यकर्मीको टोली मगाएको र आफूहरु त्यसकै प्रतिक्षामा रहेको मजदुर मोतीकुमार श्रेष्ठले बताउनुभयो । सिनो हाइड्रोले विद्युत्गृह निर्माणका लागि २२८ मजदुर परिचालन गरेको छ । त्यसमध्ये १९५ क्याम्पभित्रै र बाँकी क्याम्प बाहिर घरमै बस्ने गरेका छन् । “घर जानेहरुको परिवारका सदस्य पनि जोखिममा रहने भएकाले परिवारका सदस्य सहित सबैको पिसिआर परीक्षण गर्नुपर्ने हाम्रो माग हो,” श्रेष्ठले भन्नुभयो । पिसिआर परीक्षणको रिपोर्ट नआउँदासम्म आफूहरु काममा भने नजाने श्रेष्ठले बताउनुभयो ।

विद्युत्गृह निर्माणका लागि तनहुँ, लमजुङ, हेटौंडा, बर्दिया, झापा, उदयपुरलगायत धेरै जिल्लाका मजदुर छन् । त्यसमध्ये स्थानीय करीब १५० जना छन् भने अन्य बाहिरी जिल्लाका हुन् । तनहुँ जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले निर्माण कम्पनी र मजदुरबीच आज बिहान भएको छलफल सकारात्मक रहेर मजदुरले आन्दोलन स्थगित गरेको जानकारी दिनुभयो । “काठमाडौँबाट टोली मगाएर पिसिआर गर्ने तयारी हुँदैछ,” उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार २०:५०