५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लागुऔषधका प्रयोगकर्ता वार्षिक ११ प्रतिशतले बढ्दै

२४ जेठ,काठमाडौँ  । गृहमन्त्री रामबहादुर थापाले एक वर्षभित्र लागुऔषधको प्रयोग र कारोवार आधा घटाउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको आजको बैठकमा गृहमन्त्री थापाले समयसीमा बनाएर लागुऔषधको नियन्त्रणको कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले लागुऔषधका प्रयोगकर्ता वार्षिक ११ प्रतिशतका दरले बढिरहेको रिपोर्ट आएको छ, हामीले आँट गर्ने हो भने एक वर्षमा त्यसलाई आधा घटाउन सकिन्छ ।”


उहाँले यो सरकार पाँच वर्ष चल्ने भएकाले सो अवधिभित्र लागुऔषधको प्रयोग र ओसारपसार देशभित्र पूर्णरुपमा निषेध हुने गरी कार्ययोजना बनाउन निर्देशन दिँदै चिकित्सकको सिफारिशविना मनोद्दीपक औषधि बेच्ने स्वास्थ्यसंस्था र औषधि पसललाई इजाजतपत्र रद्द गर्नेसम्मको कानून व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सातै प्रदेशमा टोली बनाएर एकै पटक लागुपदार्थसेवीविरुद्ध कारवाही शुरु गरिनुपर्ने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले औषधि पसलको अनुगमनका लागि जनशक्ति अभाव छ भन्दै अब अनुगमनलाई तीव्रता दिइने बताउनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार १९:२३