नुवाकोट गोल्डकपः कास्कीलार्इ हराउँदै नेपाल पुलिस फाइनलमा, फाइनल खेलमा पुलिस क्लब र थ्रीस्टार बीच प्रतिष्पर्धा हुने
२४ जेठ,नुवाकोट । नुवाकाेटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब कास्की–११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
बट्टारस्थित खेल मैदानमा आज भएको खेलमा पेनाल्टीमा पुलिस क्लब ३–२ गोल अन्तरले कास्कीलाई हराएर फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो । पेनाल्टीमा पुलिसका तर्फबाट सुमन लामा, अभिषेक रिजाल र तेज तामाङले गोल गरे ।
कास्कीका तर्फबाट अजित गुरुङ र विश्व अधिकारीले मात्र गोल गरेपछि खेलको विजेता पुलिस क्बल भएको हो । पुलिसका तर्फबाट अजित भण्डारी र भोला सिलवालले पेनाल्टी खेर फाले भने कास्कीका तर्फबाट विमल बस्नेत, हेमन गुरुङ र लक्ष्मण रुचालको पेनाल्टी खेर गयो ।
शनिबार हुने प्रतियोगिताको फाइनल खेलमा आजको विजेता पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिष्पर्धा हुने आयोजक नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दीपक चित्रकारले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार १९:०९