१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

लमजुङमा कर कार्यालय स्थापना, लमजुङ र मनाङका करदाताहरुलाई सहज हुने

२३ असोज, बेसिसहर । लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । लमजुङ जिल्ला र मनाङ जिल्लाका करदाताहरुलाई करसम्बन्धी सेवा दिने उद्देश्यले लमजुङको सदरमुकाम बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको हो ।

करदाता सेवा कार्यालय बेसीसहरका कर अधिकृत सुशिल लम्सालले हालसम्म करको दायरामा आएका लमजुङका ८ हजार २ सय ९० करदाता र मनाङ जिल्लाका ५ सय ९७ करदाता गरी करिब ८ हजार ९ सय करदाता सेवाग्राहीलाई सेवा दिनेगरी कार्यालय सञ्चालनमा आएको बताउनुभयो ।

कर अधिकृत लम्सालका अनुसार यो कार्यालयले करदाताको संख्या बढाउन थप कार्यहरु गर्नेछ । कर कार्यालयबाट व्यक्तिगत वा संस्थागतरुपमा दर्ता हुने, आफ्नो संस्थाको उद्देश्य परिवर्तन गर्ने, राजश्व बुझाउने लगायतका सेवा पाउने पनि उहाँले बताउनुभयो । लमजुङमा कर कार्यालय स्थापना भएपछि यस क्षेत्रका मानिसहरुलाई करसम्बन्धी सेवा लिन तनहुँको दमौलीसम्म जानुपर्ने स्थितिको अन्त्य भएको पनि लम्सालले बताउनुभयो ।

लमजुङ र मनाङ जिल्लाका करदाताहरु यस अघि तनहुँको दमौलीमा रहेको आन्तरिक राजस्व कार्यालयबाट कर सम्बन्धी सेवा लिदै आएका थिए । कर दाता सेवा कार्यालयले लमजुङमे सेवा सूचारु गरेपछि करको दायरामा आउनेहरुको संख्या अझै बढ्ने लम्सालको भनाई छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार १३:४४