स्वास्थ्यमन्त्रीको निर्देशनः नागरिकको उपचारमा कुनै कसर बाँकी नराख्नुस्
२० असोज, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग भर्चुवल माध्यमबाट छलफल गरेका छन । कोभिड १९ को विरूद्धमा फ्रन्ट लाइनमा बसेर लडिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउने अभिप्रायले आयोजित छलफलमा मन्त्री ढकालले अस्पतालले कोभिड १९ विरूद्धको काममा भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा जानकारी लिनुभएको थियो ।
मन्त्री ढकालले कुनै पनि समस्यामा मन्त्रालय र मन्त्रीसँगै रहेको भन्दै समाधानका लागि प्रभावकारी रूपमा आफ्ना विषय उठान गर्न अनुरोध गरेका थिए । उनले सबैको सहयोगले मात्र कोरोना नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाइ प्रेरित गर्नुपर्ने बताए ।

चाडबाडको मुखमा हुने भीडभाडले कोरोनाको जोखिम अझै बढ्ने सम्भावना रहेको औल्याउँदै मन्त्री ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकहरूलाइ निर्देशन दिनुभयो । उनले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता जनाएका थिए । उनीहरूले कोभिड १९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषय मन्त्रीसँग राखेका थिए । मन्त्री ढकालले स्वास्थ्यका विज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवलाहरूसँग नियमित रूपमा छलफल गर्दै आएका छन ।

प्रकाशित मिति : 12:12









