१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

नेपाल बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट तीन सञ्चालक निर्वाचित हुने

१९ असोज, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने सञ्चालकको संख्या वृद्धि गरेको छ । सोमबार भर्चुवल माध्यमबाट भएको विशेष साधरणसभाले बैंकको नियमावलीमा परिवर्तन गर्दै यसअघि दुइ जना सञ्चालक निर्वाचित हुने व्यवस्था भएकोमा अब तीन जना सर्वसाधरण सेयरधनीको तर्फबाट सञ्चालक हुने गरी संशोधन गरिएको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रवक्ता अधिकारीका अनुसार  सभामा प्रस्तुत भएको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ (चार) जना सञ्चालकबाट घटाई ३ (तीन) र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ (दुई) जना सञ्चालकबाट बृद्धि गरी ३ (तीन) कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन/थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको छ ।

उहाँले बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १९:०१