३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

१८ असोज, गोरखा । नेपाल सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक उद्यमशीलतालाई उल्लेख गरिरहेकै समयमा गोरखामा विभिन्न संघ संस्था तथा निजी क्षेत्रमा कार्यरत कार्यकारीहरू मिलेर एकिकरण कृषि फार्म तथा अनुसन्धान केन्द्र गोरखा स्थापना गरेका छन् । गोरखा नगरपालिका– ११, तेह्र किलोमा १०० रोपनी जग्गामा स्थापना भएको कृषि फार्ममा अहिले १५० भन्दा बढि बाख्रा, १० वंगुर, २००० माछा, २० घार मौरी, तरकारी खेती, लोकल कुखुर, ब्रोइलर कुखुरा, हाँस पालन गरिरहेका छन् ।

करिव डेढ करोडको हाराहारीमा लगानी भएको कृषि फार्मले १० वर्षको लागि जमिन भाडामा लिएको छ भने केही जग्गा जमिन आफैले पनि खरिद गरेका छन् । एकिकृत कृषि फार्मको रूपमा विकास गरिएको कृषि फार्म वारे कुरा गर्दा फार्मको सञ्चालक हरि देवकोटाले अहिले परीक्षणकालमा भएका कारण पनि व्यवसायको संख्या धेरै भएको बताए ।

फार्म स्थापना भएको १ वर्ष मात्र भयो । हामीलाई के–के व्यवसायलाई एकीकृत गर्न मिल्छ । यहाँको हावापानीमा के–के व्यवसाय सुहाउछ भन्ने जानकारीको लागि पनि धेरै व्यवसाय सुरु गरेका थियौ । अव करिव करिव हामीलाई थाहा भएको छ । यसैको आधारमा आगामी दिनमा हामी केही व्यवसायलाई हटाई बाँकी व्यवसायको विस्तारको योजना बनाउछाैँ ।

कृषि फार्ममा विभिन्न सामाजिक तथा व्यवसायिक संघसंस्थामा आबद्ध १० जना जति कार्यकारीहरू रहेका छन् भने यसको नेतृत्व एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले गरेका छन् । आफ्नो आम्दानीको नियमित श्रोतको खोजी तथा अरु व्यक्तिहरूलाई पनि उदाहरण दिनको लागि पनि कृषि फार्म लगानी गरेको देवकोटाले बताए ।

त्यसै गरी स्वाँरा सघनको कार्यकारी सीताराम श्रेष्ठको अनुसार गाउँगाउँमा धेरैलाई कृषि गर्न अनुरोध गरियो । संस्थागत तवरले धेरै लगानी पनि भए तर सोचे जति प्रतिफल लिन नसकेपछि कृषिको वास्तविक पिरमर्का र अनुभव लिनको लागि पनि कृषि फार्ममा लगानी गरेको उनले बताए ।

कृषि फार्मबाट अहिले वार्षिक २०० जति उन्नत जातका पाठापाठी बिक्री वितरण हुने फार्मको व्यवस्थापक तोप बहादुर खड्का (किशोर)ले बताए । फार्ममा वोयर तथा खरी जातको बाख्राहरूको क्रस गराई पाठापाठी निकालिएको कारण पनि पाल्नको लागि अत्यन्तै उपयोगी हुने उनले बताए । अर्का सञ्चालक इश्वर ढकालको अनुसार गोरखामा उत्पादन भएको लोकल तथा ताजा उत्पादनलाई काठमाडाैँमा ल्याउनको लागि आवश्यक गृहकार्य भइरहेको उनले बताए ।

काठमाडाैँमा अहिले पनि भारतबाट आयातित तरकारीहरू, आलु, खसी बोका खानु परेको छ यदि हामी आफैले गोरखाको तरकारीलाई काठमाडाैँमा आउटलेट खोल्न सकेमा स्थानीय अन्य उत्पादनहरू उत्तरी गोरखाको आलु, सिमी, फापर, सिलाम, मह, कोदो, सुन्तला जस्ता उत्पादनले समेत फाइदा लिन सक्ने उनले बताए ।

एक वर्षको मिहिनेतमा सन्तोष गर्न सकिने अवस्था रहेको अर्का सञ्चालक बालबालिका र युवाको क्षेत्रमा क्रियाशील तिलोत्तम पौडेलले बताए । उनका अनुसार कतार, साउदी अरव तथा मलेसिया लगायत देशहरूबाट पनि नेपालीहरूले नेपाली उत्पादन पठाउन अनुरोध गरिरहनु भएको छ हामीले हाम्रो उत्पादन “फुलफ्लेज”मा गए पछि मात्र कहाँ कसरी सप्लाई गर्ने भन्ने अवस्थामा हुन्छौँ ।

अबको एक वर्षमा हामीले वार्षिक लक्ष्य निर्धारण गरी काम गर्न सक्ने अवस्थामा हुन्छौँ उनले बताए । सामाजिक क्षेत्रमा अरुलाई उद्यमी बन्ने अभियान चलाउँदै गर्दा आफू पनि उद्यमी बन्ने नमूना प्रस्तुत गर्न एकीकरण कृषि फार्म तथा अनुसन्धान केन्द्र स्थापना गरेको बताए ।

हाल ७ जनाले प्रत्यक्ष रोजगारी पाईरहेको तथा अप्रत्यक्ष रूपमा तिनका परिवार तथा अरुले पनि राहत महसुस भएको बताउँदै पौडेलले भने हामी उत्पादन र बिक्री मात्र हैन विषय विज्ञ र सरकारसँग मिलेर कृषि उद्यमशीलताका विषयमा अध्ययन गर्न खोजेका छौँ ।

गोरखामा विभिन्न क्षेत्रमा लागेका कार्यकारी युवाहरू कृषि फार्ममा लगानी गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम युवा उद्यमशीलता र स्वदेशमा रोजगारी अवसर सिर्जना गर्न थोरै भएपनि मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।   

प्रकाशित मिति : १८ आश्विन २०७७, आईतवार ०८:४२