१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन पहल


३ जेठ, दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडालाई पर्यटकीयस्थल बनाउन प्रयास थालिएको छ । वडाकै पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको यस ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्ने प्रयास थालिएको हो ।

वडा कार्यालय र गुरुङ मगर सांस्कृतिक एकता समाजले यहाँ २९ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि सम्झौता गरेका छन् । वडाध्यक्ष नारायणसिंह थापा र समाजका अध्यक्ष मनराज गुरुङबीच वडाले एकता समाजलाई बुद्ध मूर्ति निर्माणमा सहयोग गर्ने र समाजले मूर्तिसहितको संरक्षणको सम्पूर्ण स्वामित्व लिने विषयमा सम्झौता भएको हो ।

यस ठाउँलाई पर्यटकीयस्थलका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको वडाध्यक्ष थापाको भनाइ छ । वडा कार्यालयले एक्लैले ठूला योजना निर्माण गर्न नसक्ने भएकाले नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गर्नुपर्ने उनले बताए । गुरुङ मगर सांस्कृतिक एकता समाजका अध्यक्ष गुरुङले गौतम बुद्ध सबैको साझा व्यक्ति भएकाले बुद्धको मूर्ति निर्माणपछि समग्र नगरको प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बुद्ध मूर्ति निर्माणका लागि रु एक करोड बजेट लाग्नेछ । समाजले चन्दा सङ्कलन गरी रकम सङ्कलन गर्नेछ । उनले भने, “समाजसँग आवद्ध देश तथा विदेशमा रहनेहरूसँग चन्दा सङ्कलन गरिनेछ ।”

एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । यस ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ । समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको थप प्रवर्द्धन हुने उल्लेख गरे ।

प्रतिवेदनअनुसार पूर्वाधार निर्माणका लागि रु १२ करोड ५३ लाख ३४ हजार चार सय एक बजेट आवश्यक पर्ने देखिएको छ । प्रतिवेदनअनुसार दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिका प्रतिक गौतम बुद्धको मूर्ति निर्माण गरिनेछ ।

पृथ्वीराजमार्गमा लेखनाथबाट म्याग्दे देखिने गरेर आमाको प्रतीकका रुपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्तिसमेत निर्माण गरिनेछ । एक्लेडाँडाबाट शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जिपलाइन निर्माण गर्ने योजनासमेत समेटिएको छ । जिपलाइन साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्नेछ ।

बुद्धजयन्तीका दिनमात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज आन्तरिक पर्यटकले भरिभराउ हुन थालिसकेको छ । सधैँ दुलेगौँडा सहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा त्यही सहरका व्यस्त मानिस साँझ–बिहान टहलिन पुग्छन् । स्वस्थ बन्न पैदलयात्रा गरेर उकालो चढ्छन् । स्थानीयवासीका अनुसार शनिबार र चाडपर्वमा दैनिक दुई–तीन सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडामा उक्लन्छन् । केही वर्ष पहिला यहाँ घाँस दाउरा गर्न बाहेक स्थानीय जादैनथे ।

पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेका वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धुपबत्ती बाल्ने गर्दछन् । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने शान्त डाँडैभरि झिलीमिली ध्वजापताका टाँसिएको छ । पर्यटकको चहलपहल बढ्न थालेपछि तीन वर्ष पहिला वडा कार्यालयले रु १० लाख बजेटमा दुई सय मिटर रेलिङसहितको पदमार्ग निर्माण गरेको थियो । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच लाखको लागतमा ढुङ्गाको छपनी बिछ्याएर साढे दुई सय मिटर पदमार्ग बनाइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १४:४९