१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025

तराईको गर्मीमा पनि लटरम्म स्याउ

३ जेठ, काठमाडाैँ । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएको छ ।

किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ । उनले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेको छ । कैलालीमा उनले पहिलोपटक व्यावसायिक रुपमा नै स्याउखेती गरेको छ । विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेको हो । रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले भने, “अहिले फुुलेको स्याउलाई औषधि हालेर झारेको छुु, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि तीस–चालीस बोटमा मात्र फलाएको छु ।”

उनका अनुसार बिरुवा लगाएको दुुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ । बिरुवा लगाएको तीन वर्षपछि मात्रै आम्दानी गर्न सकिन्छ भने पॉच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ ।

तराईका क्षेत्रमा नौलो मानिएको स्याउखेतीका लागि हालसम्म ८० लाख लागत लागिसकेको ओलीले बताए । ओलीले स्याउसँगै अम्बा र बयर पनि रोपेको छ । एक हजार दुुई सय स्याउ, पाँच सय अम्बा र एक सय बयर उनले लगाएको छ ।

तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको बताउँदै ओलीले भने, “कृषि निर्देशक यज्ञराज जोशीको सल्लाहले मैले यो खेती गर्ने हौसला पाएँ र मलाई काम गर्न सहयोग मिल्यो ।”

हाललाई अम्बा र बयर बेचेर आम्दानी गरिरहेका ओलीले स्याउको बेर्नाबाट पनि आम्दानी लिइरहेको छ । प्रतिबेर्ना रु तीन सयका दरले बेचेको बताउँदै उनले भने, “हालसम्म एक हजार आठ सय बेर्ना बेचिसकेको छुु ।”

ओलीका अनुुसार सिरहा, सप्तरीलगायत तराई क्षेत्रबाट र सिन्धुुपाल्चोकबाट पाँच सय बिरुवा किन्न किसान आएका थिए तर पहाड क्षेत्र भएकाले बेर्ना बेचिएन । ओलीले प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कैलालीबाट रु १५ लाख अनुदान समेत पाएको छ । स्याउखेती गर्दाको सुुरुआतमा नै बिरुवा खरिदका लागि प्रदेश कृषि निर्देशनालयले रु चार लाख दिएको बताउँदै उनले भने, “कृषि ज्ञान केन्द्र कैलालीले तारबारका लागि रु ११ लाख पचास हजार अनुदान दिएको थियो र हाल सिँचाइका लागि ज्ञान केन्द्रले रु चार लाख २८ हजार अनुदान दिएको छ ।”

विगतमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासीमा बस्दै आएका ओली स्याउखेती गर्नका लागि कैलालीको प्रतापपुरमा आएको हो । उनले रु एक करोड ४६ लाखमा जमिन खरिद गरी स्याउखेती गर्न थालेकाे हाे । सुरुमा तराईमा स्याउ लगाउनेभन्दा छिमेकीले विश्वास नगरे पनि अहिले बगैँचामा फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् । आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उनले भने ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १३:०३