१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

त्रिवि सेवा आयोगको सदस्यमा प्रा डा अजय भट्टराई नियुक्त


२ जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि सेवा आयोगको सदस्यमा प्रा डा अजय भट्टराईलाई नियुक्त गरेका छन । छनौट समितले सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री समेत रहेका कुलपति प्रचण्डले भट्टराईलाई सदस्य नियुक्त गरेका हुन । भट्टराईको नाम सिफारिस समिति एक नम्बरमा राखेर कुलपतिकोमा सिफारिस गरेको थियो ।

महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पसको केमेस्ट्री डिपार्टमेन्टको प्रमुख रहेका भट्टराई त्रिभुवन विश्वविद्यालय उत्कृष्ट अनुसन्धान पुरस्कार २०८० बाट पुरस्कृत व्यक्ति समेत हुन । उनका सय भन्दा बढी अनुसन्धानमुलक लेखहरू प्रकाशित रहेका छन ।

सिफारिस समितिले वैशाखको ७ र ८ गते आवेदकहरूलाई प्रस्तुतीकरण सहितको अन्तर्वार्ता गरेको थियो । जसमा प्रा डा भट्टराईसहित प्रा। डा। खगेन्द्रप्रसाद लुईंटेल, प्रा। डा। राजनारायण यादव, प्रा। डा। मुकुन्दप्रसाद क्षेत्री, प्रा। डा। लालप्रसाद अम्गाईं, प्रा। डा। सञ्जय आचार्य, प्रा। डा। ज्ञानबहादुर थापा र प्रा। डा। नवराज कट्टेलले प्रस्तुतीकरण सहितको अन्तर्वार्ता दिएका थिए ।

उनीहरूको प्रस्तुतीकरणपछि सिफारिस समितिले केही दिनअघि कुलपति समक्ष सिफारिस गरेको थियो । रिक्त सदस्य पदका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८० चैत्र १८ गते आवेदन माग गरेको थियो । यसअघि सिफारिस गरेर अनुकुलका प्राध्यापकलाई नियुक्त गर्ने प्रचलन रहेकोमा यस पटक भने खुला प्रतिस्पर्धाबाट सदस्य नियुक्त गरिएको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १०:२५